जनता टाइम्स

४ चैत्र २०८०, आईतवार २२:५७

सत्ताको आडमा आपराधिक धन्दा चलाएका दिपेशलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


बुटवल, चैत ४। सत्तारुढ नेकपा माओवादीको भातृ संगठन अनेरास्वबियु क्रान्तिकारीका महासचिव एवं पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत रुपन्देहीबाट दिपेशलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देहीका प्रहरी प्रमुख रन्जितसिंह राठौरले जानकारी दिनुभयो । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही लगिएको थियो ।

तत्कालीन समयमा पुन उपाध्यक्ष रहेको बुटवलको सुप्रिम सहकारीमार्फत ठगी गरेको भन्दै पुनसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो । उक्त सहकारीले बचतकर्ताको ७८ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ ।

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव पुनको सत्ताको आडमा अबैध धन्दामा संलग्न भएको पाइएपछि पहिला नै फक्राउ गर्नुपर्ने आवाज उठेपनि तात्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले संरक्षण गर्नुभएको थियो । श्रेष्ठ गृहमन्त्रीबाट हटेपछि पुन पक्राउ परेका हुन ।

दिपेशको नाम सुन तस्करी प्रकरणमा समेत जोडिएको छ । गत साउन २ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध देखिएको भन्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले पुन सुन तस्करीमा संलग्न रहेको तथ्यलाई उजागर पनि गरेको छ ।