जनता टाइम्स

५ चैत्र २०८०, सोमबार १२:३८

महरालाई कपिलबस्तुबाट सिधै सिआइवी कार्यालयमा पुर्याइयो


काठमाडौँ, चैत ५ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई कपिलबस्तुबाट सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालय ल्याइएको छ ।

सीआइबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार महराविरुद्ध मुद्दा उठाएर आजै सरकारी वकिलको कार्यालयमा पेस गरिने छ । उहाँका अनुसार महराविरुद्ध मुद्दा उठाएर थुनाका लागि म्याद थप्न सरकारी वकिल कार्यालयमा लगिने छ । सोमबार महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिइएको थियो । उहाँलाई रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो ।

आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिनुभएको थियो । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिनुभएको हो ।

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिनुभएको छ ।

गत साउन २ गते ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिनुभएको छ । उहाँहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसद्मा माग उठेको थियो ।

पूर्वसभामुख महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलिसकेको छ ।