janatatimes

७ चैत्र २०८०, बुधबार ०८:५१

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या


काठमाडौं, ७ चैत्र ।  मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका– १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोराले भने भागेर बाँचेका छन् ।प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताउनुभयो ।

मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो, लगतै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो ।गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।प्रहरीका अनुसार पत्नीलाई दाउले प्रहार गरेका लिम्बूले सोही दाउले आफ्नो घाटी पनि रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।