काठमाडौं, चैत ८ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नागरिकमा अनुभूति हुने गरी कानूनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न गमन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयबाट सरुवा भई विभिन्न जिल्ला तथा निकायको नेतृत्व गरी जान लागेका अधिकारीहरुलाई आज गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिनुभएको हो । मन्त्रालयमा बिशेष कार्यक्रम आयोजना गरी मन्त्री लामिछानेले अधिकार स्मरण गराएर सेवा प्रवाहमा तत्काल सुधार गर्न सवैलाई निर्देशन दिनुभयो ।
जनतामा चरम निरासा छाएको भन्दै उहाँले सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्ने भएकाले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्न पनि निर्देशन दिनुभयो । सेवा प्रवाहमा तत्काल सुधार गरी गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न, सामाजिक सद्भाव अभिवृद्धि गर्न, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न पनि गृहमन्त्री लामिछानेले सुझाउनु भयो ।
उहाँले राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न समेत अधिकारीहरुलाई सचेत गराउनु भयो । ‘राजनीतिक नेतृत्वको आज्ञापालक होइन, सृजनशील प्रशासक बन्नोस र नागरिकलाई सम्मान दिनोस । नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहमा तत्कालै सुधार गर्नाेस ।,’
गृहमन्त्री लामिछानेको निर्देशन थियो उहाँले औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्न र जिम्मेवारी सक्दिन नभन्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो । सम्बोधनको क्रममा अध्यागमनमा सरुवा भएका प्रमुखलाई समस्या समाधानका योजना ल्याई लागू गरेर नागरिकका गुनासा सम्बोधन गर्न निर्देशन दिनुभएको छ । कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले अव कर्मचारीले आफूलाई अब्बल सावित गर्ने समय आएको भन्दै कानूनले दिएको अधिकार प्रयोगमा कँही कतै चुक्न नहुनेतर्फ सचेत गराउनु भएको थियो ।
गृहमन्त्री लामिछानेले मंगलबार मात्रै गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गर्नुभएको थियो । ती अधिकारीहरु जिम्मेवारीमा जानुअघि आज मन्त्रालयमा निर्देशन दिनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्