जनता टाइम्स

८ चैत्र २०८०, बिहीबार ००:३२

एमाले नेता-कार्यकर्तालाई अध्यक्ष ओलीले सिकाए पार्टी निर्माणको सूत्र


काठमाडौं, चैत ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने संकल्प बोकेर हिँडेको पार्टी भएको बताउनुभएको छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बदल्ने उद्देश्यसाथ हिँडेको एमाले अवसर छोपिहाल्ने पार्टी नभएको प्रष्ट पार्नुभएको हो ।

मोहन बिक्रम सिंहको उदाहरण दिँदै अध्यक्ष ओलीले निराश भएपछि, हतोत्साही भएपछि, अब भविष्य छैन भनेपछि मानिस कहाँबाट के टिप्न पाइन्छ ? त्यति भएपनि टिपौं भन्ने स्थितिमा पुग्ने भन्दै एमाले अवसर छोपेर यत्ति टिपौं भन्ने पार्टी नभएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ’एमाले यताबाट यति टिपौं भन्ने खालको, अवसर छोपेर यति टिपौं भन्ने खालको पार्टी होइन, यो देश बदल्ने उद्देश्यसाथ हिँडेको, महान उद्देश्य बोकेर हिँडेको पार्टी हो, त्यसकारण अवसर छोपिहालौं, यति लिइहालौं भन्ने सोच भएको पार्टी होइन, यो देश बनाउने संकल्प बोकेर हिँडेको पार्टी हो, त्यसकारण यसले त्यस उद्देश्यलाई सफल पार्ने काम गर्छ ।’

 

कोही पनि एकैपटक ठूलो व्यवसायी र उद्योगी नबनेको भन्दै उहाँले उद्यमशिलतामा लाग्न नेता–कार्यकर्तालाई सुझाउनु भयो । अध्यक्ष ओलीले उत्पादनका क्षेत्रमा, जीवन निर्वाहका क्षेत्रमा, स्वास्थ्य चेतना, शिक्षा चेतना, उत्पादन चेतना सबै चेतनाको अभियन्ता र नायकत्व एमालेले लिनुपर्ने बताउनुभयो । यसको तयारीका लागि तयार हुन नसक्नेलाई तालिम लिन समेत उहाँले सुझाउनुभयो ।

उहाँले हरेक अभिभावकले आफ्नो भूमिका जिम्मेवारपूर्व निभाउने सन्तानलाई सही विचार बुझाउनु पर्ने धारणा पनि राख्नुभयो । कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा काठमाडौं इञ्चार्ज आनन्द्रप्रसाद पोखरेलले अव काठमाडौंका सवै निर्वाचन क्षेत्रमा जीत निकाल्ने गरी एमाले पङ्ती तयार हुनुपर्नेमा जोड दिनुभएको थियो ।