जनता टाइम्स

९ चैत्र २०८०, शुक्रबार ०८:२५

मुलुक आर्थिक संकटमा रहँदा संसद बैठक रोकेर जम्बो टोलीसहित जेनेभा उडे सभामुख


काठमाडौं, चैत ९ । मुलुक आर्थिक रुपमा निकै समस्यामा रहेको बेला प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे जम्बो टोली लिएर बिदेश भ्रमणमा निस्कनुभएको छ । सभामुख घिमिरे अन्तर–व्यवस्थापिका संघ को १४८ औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीजरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको हो ।

अन्तर–व्यवस्थापिका संघको प्रधान कार्यालय रहेको जेनेभामा यही २०२४ मार्च २३ देखि २७ (२०८० चैत्र १० देखि १४) सम्म सञ्‍चालन हुने महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल बिहीबार बेलुका कतार एयरलायन्सको क्यूआर ६४७ उडानमार्फत् दोहा हुँदै जेनेभातर्फ प्रस्थान गर्नुभएको हो ।

उक्त प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभाका सदस्य गंगा कुमारी बेलबासे, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद सचिवालयका उपसचिव प्रदीप गुरागाईं रहनुभएको छ ।

महासभामा सभामुख घिमिरेले ’पार्लियामेन्टरी डिप्लोमेसीः बिल्डिङ् ब्रिजेज फर पिस एण्ड अन्डर्स्ट्याण्डिङ्’ विषयको जेनरल डिबेटमा संघीय संसदको तर्फबाट आफ्नो मन्तब्य राख्ने कार्यक्रम छ । आईपीयूको फोरम अफ योङ् पार्लियामेन्टरियन्समा सांसद महेश बर्तौंला र सन्तोष परियार तथा फोरम अफ वुमेन पार्लियामेन्टरियन्समा गंगाकुमारी बेल्बासेले सहभागिता जनाउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । यी बाहेक आईपीयू्का स्थायी समितिका छलफलहरूमा समेत प्रतिनिधिमण्डलको सहभागिता रहनेछ ।

अन्तर–व्यवस्थापिका संघको महासभासँगै संसदका महासचिवहरूको संगठनका बैठकहरू सञ्‍चालन हुनेछन् । ती बैठकहरूमा संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले सहभागिता जनाउने संसद सचिवालयले जनाएको छ । सभामु नेतृत्वको प्रतिनिधिमण्डल चैत १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।