काठमाडौं, चैत ९ । बिमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा आज बयान सकिएसँगै पूर्वसभामुख महरालाई हाजिरी जमानीमा छाडिएको हो । प्रहरीले महरालाई जेठा छोरा निर्मल महराको जिम्मा लगाइएको छ । कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पुर्पक्षका लागि थुनामा रहेका छन ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महराको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानतमा छाडिएको बताउनु भयो । ’उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हाजिरी जमानीमा छाडिएको हो । निजलाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी छोराको जिम्मा लगाई छाडिएको छ,’ सहन्यायाधिवक्ता श्रेष्ठले भन्नुभयो ।
काठमाडौंबाट गृहजिल्ला रोल्पा जाँदै गर्दा पूर्वसभामुख महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै जानुभएका महरालाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेलगत्तै स्वास्थ्य अवस्था कमजोर भएको बताएर महरा अस्पताल भर्ना हुनुभएको थियो । उहाँ नर्भिक अस्पतालमा उपचाररत रहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्