जनता टाइम्स

९ चैत्र २०८०, शुक्रबार १९:२८

प्रेमीलाई सुपारी दिएर पतिकै निर्मम हत्या


पोखरा, चैत ९ । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा मृत अवस्थामा फेलापरेका रामबहादुर तामाङको हत्यामा उनकी पत्नी नै संलग्न रहेको तथ्य खुलेको छ । प्रहरीले हत्यामा संलग्न ४ जनालाई पक्राउ गरेपछि यो तथ्इ उजागर भएको हो ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका–३, गुम्दा निवासी रामबहादुरको हत्यामा संलग्न श्रीमतीसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । यही चैत १ गते मादी गाउँपालिका–१ सिक्लेसमा टाउकोमा चोटपटक लागेको अवस्थामा तामाङको शव भेटिएको थियो ।

प्रहरीको अनुसन्धानपछि घटनामा मृतककी श्रीमती कान्छी लामा तामाङसहित ४ जनाको संलग्नता देखिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार कान्छी लामा, धन लामा र दुई किशोरलाई पक्राउ गरिएको छ । उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार रामबहादुर र पत्नी कान्छी लामा ५/६ वर्ष देखि छुट्टाछुट्टै बस्दै आएका थिए । रामबहादुरले अर्की ल्याएपछि कान्छी बहुविवाहको मुद्दा लिएर अदालत गएकी थिइन् । अदालतको आदेशअनुसार कैद सजाय पाएका रामबहादुर कैद भुक्तान गरी निस्किएसँगै श्रीमतीले मार्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको छ ।

पक्राउ परेका धन लामा भने पत्नी कान्छी लामाको प्रेमी रहेको बताइएको छ । पाँच वर्षअघि नै रामबहादुरसँग चिनजानमा रहेका धन लामासँगै हाइड्रोपावरमा एक्स्काभेटर सहचालकको रूपमा काम गर्थे । उनीहरूबीच विवादसमेत रहेको थियो । रामबहादुरकी पत्नी कान्छीले ‘पन्छाउनु पर्यो, पैसा दिन्छु’ भनेपछि धनसहितका ३ जना रामबहादुरसँगै पोखरा आएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार गत फागुन अन्तिम हप्तामा घरमा गई बुबाआमासँग भेट गरी रामबहादुर सिन्धुपाल्चोकको मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनी निस्किएको देखिन्छ । त्यसपछि उनी फागुन ३० गते राति काठमाडौंमा अन्य साथीहरूसँग सिक्लेसामा रहेको हाइड्रोपावरतर्फ लागेको पाइएको थियो ।

सिक्लेशस्थित रहेको हाइड्रोपावरमा काम गर्न जाने क्रममा चैत १ गते बाटोमा रामबहादुरलाई धन लामासहित ३ जनाले हत्या गरेका थिए । टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेपछि उनीहरूले शवलाई सडकदेखि ३० मिटर तल भिरमा फालिदिएर भागेका थिए ।

हत्या गरेपछि धन लामाले मृतकको श्रीमतीलाई फोन गरेर जानकारी दिएको तथ्यसमेत अनुसन्धानबाट फेलापरेको प्रहरीले जनाएको छ । रामबहादुरको हत्या गरेको देखेका दुई जनालाई सूचना लिक नगर्न ई–सेवा आइडी मार्फत मृतककी श्रीमतीले ९० हजार जम्मा गरेको समेत पाइएको छ । उक्त रकम काठमाडौँ गएर निकाली २०–२० हजार अन्य दुईजनालाई दिएको बाँकी ५० हजार धन लामा आफूले राखेको प्रहरीले जनाएको छ ।