गणेश बस्नेत

१० चैत्र २०८०, शनिबार ०९:३१

होली सुरक्षाका लागि काठमाडौं उपत्यकाका ९० स्थानमा चेकजाँच, ९०० बढी ट्राफिक खटिने


काठमाडौं, १० चैत । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा कडाइ गर्ने भएको छ ।उपत्यकाका सडकहरूमा अधिकतम ट्राफिक प्रहरी खटाएर उच्छृङ्खल गतिविधिमा कडाइ गर्ने तयारी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरीका अनुसार होली पर्व मनाउने क्रममा हुने दुर्घटना न्यूनीकरणका लागि यस वर्ष काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको छ ।

यसका साथै ३० वटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ति तथा चेक प्वाइन्टसमेत राख्ने तयारी गरिएको छ । सुरक्षा योजना अनुसार मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गरिनेछ । यसका लागि करिब एक हजार जना ट्राफिक प्रहरी खटिने एसएसपी श्रेष्ठले बताए ।अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाइ गरी ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेमाथि निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ ।विशेषगरी मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झैझगडागर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने भएको छ ।