जनता टाइम्स

१० चैत्र २०८०, शनिबार १०:०३

यो आइमाइ घमन्डी छे भन्दै पूर्वप्रधानन्यायाधीश कार्कीले सुनाइन पदमा रहँदा आफैले भोगेको पीडादायी यथार्थ


काठमाडौं, चैत १० । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयको नेतृत्व सम्हालिरहेकै बेला आफूमाथि गम्भीर आक्षेप लगाउने काम भएको खुलासा गर्नुभएको छ ।

राजधानीमा शुक्रवारबाट सुरु भएको महिला न्यायाधीशको सम्मेलनमा आफ्नो अनुभुति सुनाउँदै कार्कीले महिला नेतृत्वमापुग्दा पुरुष सत्तालाई आक्रोशित पार्ने गरेको र त्यसैका आधारमा अनेक लाञ्छना लगाउने काम हुँदै आएको र आफू पनि त्यस्को शिकार बनेको खुलाउनु भयो ।

पूर्वप्रधानन्यायाधीश कार्कीले नेतृत्वमा रहेका पुरुषहरूले ‘यो आइमाई घमन्डी छे’ भनेर आफ्नै अघिल्तिर कुरा काटेको सुनेको स्मरण गर्नुभयो । आफूलाई महाअभियोग लगाइएको घटनालाई स्मरण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले भन्नुभयो, ‘महिलाहरू नेतृत्वमा पुगेपछि त्यसको चोट पुरुष अहंकारमा पर्दोरहेछ ।’

पितृसत्ताको दृष्टिकोणमा महिलाहरू काम गर्न नसक्ने मानिस हुन भन्ने दृष्टिकोण हावी भएको टिप्पणी गर्दै उहाँले त्यसले गर्दा देखिने/नदेखिने अनेकन बाधाहरूले राज्यसंयन्त्रका सवै तहमा महिलालाई काम गर्न अप्ठेरो पार्ने अवस्था विद्यमान रहेको धारणा पनि राख्नुभयो ।

आफूमाथि आउने लान्छना वा आरोपबाट डराए केही गर्न नसकिने तथ्य पनि उहाँले औंल्याउनु भयो । कार्कीले भन्नुभयो, ‘नेतृत्वलाई गरिखाने बनाउन ठूलो चुनौती खेप्नुपर्ने हुन सक्छ, तर हामीले त्यसबाट डरायौं र गडबड गर्न पुग्यौं भने अघि बढ्दै गरेको समग्र महिला वर्ग हतोत्साहित हुन पुग्छ, त्यसैले तपाईंहरू खुट्टा कमउनु हुन्न, आफ्नो क्षेत्रमा जमेर अघि बढ्नुपर्छ ।’ कार्कीले आफ्नो अनुभुति सुनाइरहँदा सहभागी महिला न्यायाधीशहरुमा सन्नटा छाएको थियो ।

आजसम्म चल्ने सम्मेलनमा जिल्ला, उच्च र सर्वोच्चका सबै महिला न्यायाधीशहरू सहभागी हुनुभएको छ । हाल सर्वोच्चमा ३, उच्चमा २२ र जिल्लामा १८ जना गरी देशभर ४३ महिला न्यायाधीशहरू रहेका छन । जुन संख्या कुल न्यायाधीश संख्याको १०.५४ प्रतिशत मात्र हो ।