पोखरा, चैत १० । नेकपा एमालेका महासचिव शंकर पोखरेलेले पार्टी सुधारको लागि नेता कार्यकर्तामै सुधार अनिवार्य रहेको निश्कर्ष सुनाउनु भएको छ ।
नेकपा एमाले कास्कीको आजबाट पोखरामा सुरु भएको नवौँ जिल्ला अधिवेशनको उदघाटन समारोहमा बोल्दै महासचिव पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो । ‘पार्टीमा सुधारका लागि सवैभन्दा पहिले हाम्रो नेता कार्यकर्ता सुध्रनु पर्छ । नेता कार्यकर्ता नसुध्रिएसम्म पार्टीले अघि बढाएको मिसन सफल हुन्न,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले एमालेका नेता–कार्यकर्ता नसुध्रिएसम्म मिसन २०८४ सफल हुन नसक्ने ठोकुवा गर्दै त्यसअनुसारको ब्यवहार बदल्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । महासचिव पोखरेलेले नेतृत्वको प्रश्नलाई निरूपण गर्न नसक्दा नै नेपालमा राजनीतिक अस्थिरता कायम भइरहेको तथ्य औंल्याउनु भयो ।
उहाँले अहिलेको अवस्थामा निर्वाचन वर्गसंघर्षको केन्द्रीय थलो भएको पनि प्रष्ट पार्नुभयो । ‘कसले टिकट पायो होइन, पार्टीलाई जिताउने हाम्रो कर्तव्य हो भन्ने कुरा साझा सङ्कल्पका रूपमा पार्टीका नेता–कार्यकर्ताले जबसम्म आत्मसाथ गर्न सक्दैनन, तबसम्म हामीले नेपालको राजनीतिमा नेतृत्वको प्रश्नलाई निरूपण गर्न सक्दैनौँ’, महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले राजनीतिक अस्थिरता आज देशको प्रमुख चुनौती रहेको भन्दै नेपाल बनेन भनेर बहस चलाउने गरिए पनि किन बनेन भन्ने बहस नचलाइएको बताउनु भयो । ‘पुराना दलका कारण नेपाल बनेन भनेर भाष्य निर्माण गर्न खोजिँदै छ, त्यो सरासर झुट कुरा हो,’ महासचिव पोखरेलले भन्नुभयो ।
विकसित मुलुकमा सयौं वर्षदेखि राजनीतिमा रहेका पार्टीले परिवर्तनको काम गरिरहेका पोखरेलले बताउनुभयो । नीति र नेतृत्वको विकल्प भएकै राजनीतिक दलबाट विश्वमा खोजिने उहाँले स्पष्ट पार्नुभयो । नीतिको जगमा खडा भएका राजनीतिक दलले नै स्थायित्व दिन सक्ने भन्दै महासचिव पोखरेलले स्थायित्व एमालेबाट मात्रै संभव भएको बताउनु भयो ।
‘नेपाललाई विकास र समृद्धिको दिशामा लैजाने हो भने बलिया राजनीतिक दलको आवश्यक छ भन्ने कुराको सच्चाइलाई नेपाली जनताको बिचमा लिएर जानुपर्दछ, जति बेला हामीलाई शक्ति आवश्यक पर्छ, त्यति बेला जनमत विभाजित हुने गरेको छ’, उहाँले भन्नुभयो ।
जनताले सबैभन्दा बढी मन पराएको पार्टीले शासन गर्ने नेतृत्व नपाएको विडम्बनापूर्ण स्थिति रहेको भन्दै महासचिव पोखरेलले अव त्यो भ्रम चिर्न जरुरी रहेको बताउनुभयो । देश र जनताप्रति जिम्मेवार भएकै कारण एमालेले पुरानो गठबन्धन छाडेर आउनेलाई सरकारको नेतृत्व गर्न समर्थन गरेको उहाँले स्पष्ट पार्नुभयो । ‘किनकि हाम्रो चिन्ता राष्ट्रको भविष्यप्रति छ, जनताको भविष्यप्रति छ’, महासचिव पोखरेलले भन्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेससँग समीकरण गर्दाको बेला एमालेले यो गठबन्धनबाट देश र जनताको पक्षमा काम गर्न सक्नु हुन्न भनेर भनेको उहाँले स्मरण गराउनुभयो । अहिले आएर बल्ल प्रचण्डले त्यो कुरा बुझ्नु भएको कारण नयाँ सत्ता समीकरण बनेको पोखरेलले स्पष्ट पार्नुभयो ।
‘कांग्रेससँग समीकरण गर्दाको बेला यो गठबन्धनबाट देश र जनताको पक्षमा काम गर्न सक्नु हुन्न भनेर हामीले प्रधानमन्त्रीलाई भनेका थियौं । अहिले आएर बल्ल प्रचण्डले त्यो कुरा बुझ्नुभएको कारण नयाँ सत्ता समीकरण बनेको हो,’ नयाँ सत्ता गठबन्धनबारेको प्रश्न मेटाउँदै महासचिव पोखरेलले भन्नुभयो ।
एमालेले यो सरकारलाई नयाँ गठबन्धन नभनेको भन्दै पनि उहाँले अहिलेको समीकरण केवल सत्ता समीकरण मात्र भएको प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले एमाले तत्काल वामपन्थी गठबन्धन वा समाजवादी मोर्चाको पक्षमा नरहेको अडान पुनः दोहोर्याउनुभयो । ‘एमालेले एमालेविरुद्धको हाम्रा विरुद्धको चक्रव्यूँहलाई तोडेर हामी बाहिर आएका छौँ, सहकार्यको एउटा यात्रा अगाडि बढाएका छौँ’, उहाँले भन्नुभयो ।
एमालेको मुख्य लक्ष मिसन २०८४ नै रहेको उहाँले बताउनुभयो । एमालेको अर्जुनदृष्टि मिसन २०८४ सहेको उहाँले स्पष्ट पार्नुभयो । ‘मिसन २०८४ मुलुकको भविष्य निर्माणको सङ्कल्प हो, त्यसबाट एमाले पछि हट्ने कुरा आउँदैन’, महासचिव पोखरेलले भन्नुभयो ।
एमाले सरकारमा त गयो महत्पूर्ण मन्त्रालय त लिएन नि भन्ने चर्चा हुने गरेको बताउँदै महासचिव पोखरेलले अहिलेको संसद् भित्र एमालेले चाहेजस्तो नीतिगत नेतृत्व सम्भव नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘हामीले त मुलुकको ओरालो यात्रालाई रोक्न मात्र सहकार्य गरेका छौँ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्