जनता टाइम्स

१० चैत्र २०८०, शनिबार २०:१३

सञ्चारमन्त्रीको गृहजिल्लामा बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका ३ जनाको मृत्यू


दाङ, चैत १० । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको गृहजिल्ला दाङमा विजुलीको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यू भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुडिएर करेन्ट लाग्दा सोही वडाका ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा केसी र चार वर्षीय नाती कृष्ण केसीको मृत्यू भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

स्थानीयवासीको भनाई उधृत गर्दै प्रहरीले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार शनिवारको दिन घर अगाडि खेलिरहेका नाती कृष्णलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा र हजुरबुबालाई पनि करेन्ट लागेको थियो ।

करेन्ट लागेर तीनैजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

भिभिआइपीको लर्काे रहेको दाङमा यस प्रकारका घटना बारम्बार भइरहने गरेका छन । दाङ सञ्चारमन्त्री शर्मादेखि नेकपा एमालेका महासचिव शंकर पोखरेल र सुनबहादुरको उपनामले जिल्लामा चिनिन थाल्नुभएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको पनि गृहजिल्ला हो ।