जनता टाइम्स

१३ चैत्र २०८०, मंगलवार २३:२२

एमाले तत्काल वामपन्थी एकताको पक्षमा छैन, सरकारको नेतृत्व आलोपालो गर्ने सहमति पनि भएको छैन : ईश्वर पोखरेल


उदयपुर, चैत १३ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वामपन्थी पाटीहरुबीच तत्काल एकताको संभावना तत्काल एकताको संभावना नरहेको प्रष्ट पार्नुभएको छ । एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो ।

उहाँले एमाले अहिलेको अवस्था बामपन्थी एकताको भावनामा बहकिएर पार्टी एक बनाउने पक्षमा नरहेको समेत स्पष्ट गर्नुभयो । ‘अहिलेको गठबन्धनलाई आधार मानेर केहीले पार्टी एक हुन्छ भन्ने हल्ला गरेका छन, त्यस बिषयमा एमालेको कुनै सोच छैन, नयाँ गठबन्धन मुलुकको हितका लागि मात्र हो । त्यति बुझ्नुस,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘व्यक्तिगत हिसावले एकल मान्छेहरु पार्टीमा आउन सक्छन, तर यसको मतलव पार्टी नै एक हुने हो भन्ने होइन ।’

उहाँल थप्नुभयो, ‘समाजवादी मोर्चा र वामगठबन्धन अहिले आवश्यकता छैन । त्यसको अर्थ पनि छैन । यो गठबन्धन मुलुकको समृद्धि र हितमा हो, अरु कुरा सवै बेकार हुन भन्ने तथ्य बुझ्नोस ।’ उहाँले विगतको गठबन्धन एमालेलाई जसरी पनि सिध्याउने षडयन्त्रपूर्ण ढङ्गबाट बढेकाले नयाँ गठबन्धनको परिकल्पना गरेको पनि प्रष्ट पार्नुभयो ।

‘बिगतको गठबन्धन स्वभाविक थिएन, राष्ट्रिय हितमा पनि थिएन । यो गठबन्धन राष्ट्रिय हित, स्वाभिमान, समृद्धिका लागि हो,’ पोखरेलले भन्नुभयो । नयाँ गठबन्धनले मुलुकमा नयाँ खालको राजनैतिक समिकरण प्रारम्भ भएको पनि उहाँको भनाई थियो ।

पोखरेलले नयाँ सत्ता गठबन्धन बनेसँगै देश बनाउने सपनाहरुलाई साकार पार्ने महत्वपूर्ण कामको थालनी भएको र यसलाई जोगाएर अगाडि बढ्नु सत्ता साझेदार दलहरुको दायित्व रहेको बताउनु भयो । यसैगरी उहाँले आर्थिक विकास र समृद्धिको अभियान बिचैमा अलपत्र भएर लथालिङ्ग भएको अवस्थामा अहिलेको सरकार निर्माण गरिएकोले अव देशले राजनैतिक निकास पाउने र विकासले फड्को मार्ने बताउनु भयो ।

उहाँले यहीँ गठबन्धनबाट एमालेले मिसन २०८४ को लक्ष्य हासिल गर्ने जानकारीसमेत दिनुभयो । नयाँ समिकरणसँगै सात वटै प्रदेशका सरकार फेरवदल हुने भन्दै अव समृद्धिको अभियानको थालनी भइसकेको उहाँको भनाई छ । पोखरेलले मुलकको समृद्धि हासिल गर्न र नेकपा एमालेको संकल्प गरेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न नयाँ समिकरणको सरकार बनेको पनि स्पष्ट पार्नुभयो ।

पोखरेलले नयाँ समिकरणमा को प्रधानमन्त्री कति समयका लागि बन्ने र एमालेले राम्रा मन्त्रालय किन नलिएको भन्ने भन्दा पनि मुलुकलाई सकारात्मक दिशाबाट अघि बढाउन एमालेले लचकता अपनाएको जानकारी दिनुभयो । नयाँ समिकरणका लागि प्रधानमन्त्री आलोपालो भन्ने कही कतै सहमति नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

अधिवेशनमा आफ्नो धारणा राख्दै उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले पैसाका कारण अव कुनैपनि कामहरु नरोकिने बताउनु भयो । मुलुकको अर्थतन्त्रमा क्रमिक रुपले सुधार आएकाले अव पैसाका कारण कुनै पनि योजनाहरु रोकिने अवस्था नरहेको उहाँको भनाई थियो । एमाले कोशीको इञ्चार्जसमेत रहनुभएका मन्त्री महासेठले राज्यको ढुकुटी रित्तिएका कारण निर्माण व्यवसायीहरुले यसअघि योजनाको काम ठप्प पारेको तर अव त्यो समस्या पनि हल हुने बताउनु भयो ।

‘यसअघि ठेकेदार कम्पनीले काम सम्पन्न भईसक्दा पनि भुक्तानी हुन सकेको थिएन, वर्तमान सरकारको चासो भौतिक पुर्वाधार निर्माणमा नै भएकाले काम गर्ने कुनै पनि व्यवसायिले भुक्तानीमा अल्झन खेप्नु पर्दैन,’ उहाँको भनाई थियो ।

एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले कोसी प्रदेशको नेतृत्व एमालेले गर्ने बताउनु भयो । उहाँले सर्वोच्च अदालतले विकल्प रहुन्जेलसम्म सरकार गठन गर्न सकिने व्याख्या गरेकाले विगठनको हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभयो ।

‘न्यायलयले प्रष्ट व्याख्या गरिसकेको विषयलाई अपव्याख्या गरेर संसद विगठन हुन्छ भन्ने कुरामा कुनै सत्यता छैन, कोही भ्रममा नपर्नाेस,’ कार्कीको भनाई थियो । स्थायी कमिटीका अर्काे सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले मिसन ८४ मा एमालेले कसैको बैशाखी र गठबन्धनमा निर्भर नरहने बताउनु भयो ।