जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १३:२७

गृहमन्त्री रबिलाई नै सहकारीबाट पैसा लिने रवि लामिछाने को हुन भन्दै प्रश्न गरेपछि


काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ? भन्दै प्रश्न गर्नुभएको छ । आज संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले गृहमन्त्री रवि लामिछानेलाई यस्तो प्रश्न सोध्नुभएको हो ।

उहाँले भन्नुभयो,‘पोखरा बुटवल लगायतका केही सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा १० करोड रूपैयाँ आएको भन्ने सुनिएको छ । त्यो पैसा त्यहाँ आउनु हुन्थ्यो कि हुँदैन थियो ? छानबिनको कुरा होला ? त्यसमा १ करोड रूपैयाँ को व्यक्ति हो थाहा छैन । रवि लामिछाने नामले पनि जम्मा भएको भन्ने खबर आयो । त्यो मान्छे को हो ? नाम मात्रै संयोगले मिलेको हो कि ? हाम्रो त अहिलेको वर्तमान गृहमन्त्रीको नाम पनि रवि लामिछाने हो । त्यसरी चिन्छौँ ।’

त्यो नाम गृहमन्त्री नै भएको भए यसको छानबिन निष्पक्ष गर्नका लागि जिम्मेवारीबाट बाहिर बस्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘यदि गृहमन्त्री रवि लमिछाने नै भएको भए छानबिन सुरु गरिहाल्न र छानबिन भइन्जेल जिम्मेवारीबाट बाहिर बस्न मिल्छ कि मिल्दैन ?’ सांसद बडूले छानबिन हुन्जेल छानबिनलाई विश्वसनीय बनाउन गृहमन्त्री बाहिर बसेर सहयोग गरेर कानुनभन्दा ठुलो कोहि हुदैन भन्ने देखाउन आग्रह गर्नुभएको थियो ।