जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १४:१६

मेरो प्रदेशको मुख्यमन्त्री माओवादीकै हुनुपर्छ : जनार्दन शर्मा


काठमाडौं, चैत १४ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नो प्रदेशको मुख्यमन्त्री सत्ता गठबन्धनका अन्य दललाई दिन नहुने अडान राख्नुभएको छ ।

आज बसेको माओवादीको पदाधिकारी बैठकमा उपमहासचिव शर्माले आफ्नो प्रदेश कर्णालीमा माओवादीको मुख्यमन्त्री हुनैपर्नै जिद्धि गर्नुभएको हो । शर्माले कर्णाली आफ्नो प्रदेश रहेको र सो प्रदेशका जनताले मुख्यमन्त्री माओवादीकै हुनुपर्ने भनेको भन्दै लुम्बिनी, कोशी, गण्डकी, बागमतिलगायतका अरु प्रदेश छाडनु पर्ने तर कर्णाली नमिल्ने बताउनु भयो ।

‘गठबन्धन भाँडिए भाँडियोस, मलाई केही फरक पर्दैन । तर कर्णालीको मुख्यमन्त्री चाँहि माओवादीले नै लिनुपर्छ, अरु जुन प्रदेश छाडदा पनि हुन्छ, सवैभन्दा ठूलो दलले मुख्यमन्त्री छाडनु जनमतको घोर अपमान हुन्छ,’ शर्माको भनाई उधृत गर्दै एक सदस्यले जनताटाइम्स डटकमसँग भने । आफ्नो धारणा राख्ने क्रममा शर्माले कर्णाली जनार्दन शर्माको प्रदेश हो भन्ने हेक्का राखेर निर्णय गर्न भन्दै चेतावनीको भाषासमेत प्रयोग गर्नुभएको थियो ।

शर्माले जिद्धि गरेपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसबारेमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग छलफल भइहरेको र अझै निष्कर्षमा पुगिनसकेको जवाफ दिनुभएको छ । शर्माले सवैभन्दा ठूलो दल माओवादीले नै मुख्यमन्त्री नपाउँदा जनमतको अपमान हुने तर्कसमेत गर्नुभएको थियो । ‘

‘सवैभन्दा ठूलो दलको मुख्यमन्त्री नहुने, साना मसिना दलको हुने कुरा जनमतकै अपमान हो, जनमतको अपमान स्वीकार्य हुन्न,’ शर्माको भनाई उधृत गर्दै अर्का सदस्यले भने ।

सत्ता गठबन्धनमा अहिलेसम्मको छलफलमा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ । कांग्रेस नेतृत्वको गठबन्धन हुनुपर्ने लबिङमा रहनुभएका भारतका प्रिय पात्र जनार्दनले सोही सहमति तोडन कर्णाली लिनैपर्ने अडान राख्नुभएको बताइएको छ ।