जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १७:२८

भ्रम तोडियो भन्दै रमेश खरेलले छाडे रास्वपा


काठमाडौं, चैत १४ । पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्नुभएको छ ।

खरेलले आज राजीनामा पत्र बुझाएर रास्वपा परित्याग गर्नुभएको हो । आम चुनाव २०७९ मा काठमाडौं–१ स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडनुभएका खरेल गत वैशाख १० मा भएको उपचुनावमा रास्वपा प्रवेश गरी उम्मेदवार बन्नुभएको थियो ।

खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेपनि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पराजित हुनुभएको थियो । चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहनु भएका खरेलले पछिल्लो समय पार्टी सभापतिसमेत रहनु भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आउनु भएको थियो ।

सोही बिषयलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेपछि खरेलले पार्टी नै त्याग्नुभएको हो । रास्वपाले सभापतिबिरुद्ध बाहिर जथाभावी किन बोलेको ? अनुशासनको कार्वाही किन नगर्ने भन्दै स्पष्टिकरण सोधेपछि खरेलले आफूलाई मन लागेको र सत्य कुरा बोल्न पाइन्छ भन्दै राजीनामा दिएर पार्टी नै छाडनु भएको हो ।

खरेलले राजीनामा पत्रमा रास्वपा नयाँ पार्टी हो भन्ने भ्रम तोडिएको र पुरानाभन्दा खराव प्रबृत्ति र शैली रहेको ठोकुवासमेत गर्नुभएको छ ।