जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १८:५७

भारत भाग्न लागेपछि महरालाई पक्राउ गरिएको आइजीपीको खुलासा


काठमाडौं, चैत १४ । नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा भाग्न लागेपछि प्रहरीले पक्राउ गरेको खुलासा भएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरले संसदको राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो खुलासा गर्नुभएको हो ।

राज्य ब्यवस्था समितिले उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने, गृहसचिव एकनारायण अर्याल, आइजीपी कुँवर र सशस्त्रका आइजीपी राजु अर्यालसहितका पदाधिकारीलाई आज छलफलका लागि बोलाएको थियो ।

समितिमा आइजीपी कुँवरले सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष महराले पिएसओ र गाडी छोडेर हिँडेपछि समातेर काठमाडौँ ल्याएको भन्दै भाग्ने क्रममा समातिएको तथ्य खोल्नुभयो । समितिको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै आइजीपी कुँवरले महरा फरार हुन लागेपछि समात्नुपरेको प्रष्ट पार्नुभयो । प्रहरी स्रोतका अनुसार महरा कपिलबस्तुबाटै भारततिर भाग्ने तयारीमा रहेको सूचनापछि राजमार्गमा ढाट तेस्र्याएर समात्नु परेको थियो ।

‘प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि छलफल गरेर नै उहाँ (महरा) लाई पक्राउ गरेका हौँ’, आइजीपी कुँवरले भन्नुभयो, ‘अदालतले स्वास्थ्य अवस्था हेरेर अस्पतालमै राखेर अनुसन्धान गर्न आदेश दिएकाले सोही अनुसार अनुसन्धान भइरहेको छ ।’ उहाँले स्वास्थ्य अवस्थाले हिरासतमा अप्रिय घटना नहोस भनेर हिरासत बाहिर राखेर अनुसन्धान गर्नुपरेको जानकारी पनि दिनुभयो ।