जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार १८:२६

लोकतन्त्रको रक्षाका विषयमा कांग्रेसले फुर्ती नलाए हुन्छ : अध्यक्ष ओली


झापा, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस लोकतान्त्रिक पार्टी नभएको बताउनुभएको छ । अध्यक्ष ओलीले काँग्रेसलाई लोकतन्त्रको रक्षाका विषयमा ‘फुर्ती’ नगर्न नेपाली चेतावनी दिनुभएको हो । एमाले झापाको ११ औँ अधिवेशन उद्घाटन गर्दै पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले विगतका दिनमा कांग्रेसकै शासनका बेला वामपन्थी पार्टीहरूमाथि भएका आक्रमण र परिस्थितिले कांग्रेस लोकतान्त्रिक पार्टी नभएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेस अलि शक्तिशाली भयो भने फेरि पनि बुथ कब्जा गरेर चुनावमा जबरजस्ती गर्छ । अहिले पो कांग्रेस कमजोर भएको छ ।’ कांग्रेसले निषेधको राजनीति गरेको उहाँको भनाइ छ । नेपालमा पञ्चायतविरुद्ध कहीँकतै आन्दोलन गर्ने वातावरण नभएका बेला आफूहरूले विद्रोहमार्फत झापाबाट आन्दोलन सुरु गरेको अध्यक्ष ओलीले स्मरण गर्नुभयो । झापा विद्रोहमार्फत आन्दोलन गर्दै पञ्चायती शासन व्यवस्थालाई घुँडा उहाँले उल्लेख गर्नुभयो ।

उहाँले थप्नुभयो,‘त्यो बेलाको झापालीको आन्दोलनले पञ्चायती शासन व्यवस्थालाई घुँडा टेकायो। जुनबेला तत्कालीन शासकविरुद्ध कसैले पनि आवाज उठाउन सक्दैन थियो ।’ नेपालमा वामपन्थी विद्रोहले देशलाई सही बाटो दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘झापाली आन्दोलनले संघर्ष र देशभक्तिको बाटो देखाएको छ। यो आन्दोलनको असाधारण महत्व छ ।’ देशको रानीतिक परिवर्तनमा झापाको योगदान अतुलनीय रहेको एमाले अध्यक्ष ओलीले बताउनुभयो । अनेक पटकका नेपालको लोकतान्त्रिक आन्दोलनमा झापाको योगदान तारिफ गर्न योग्य रहेको उहाँले बताउनुभयो ।