janatatimes

१६ चैत्र २०८०, शुक्रबार ०८:३०

प्रचण्डकी बुहारीलाई प्रदेशको सहइन्चार्ज बनाइएकोमा सिनियर पाँच केन्द्रीय सदस्य असन्तुष्ट


काठमाडौ, १६ चैत्र । सिनियर केन्द्रीय सदस्य हुँदाहुँदै माओवादी केन्द्रले पार्टीको सुदुर-पश्चिम प्रदेशको सह-इन्चार्जमा प्रचण्डकी बुहारी बिना मगरलाई नियुक्त गरिएकोमा असन्तुष्टि देखिएको छ। आफूहरु सिनियर केन्द्रीय सदस्य हुँदाहुँदै प्रचण्डको बुहारी मगरलाई प्रदेश सहइन्चार्ज बनाइएकोमा सुदुर-पश्चिममा कार्यरत पांच सिनियर केन्द्रीय सदस्यहरुले असन्तुष्टि जनाएका हुन्। फागुन १६ गतेको स्थायी समितिको बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गिरिराजमणि पोखरेल र सहईन्चार्जमा बिना मगरलाई जिम्मेवारी तोकिएको थियो ।

जुनियरलाई सहईन्चार्ज बनाएको भन्दै सोही दिनबाट विरोध गरेका माओवादीका नेताहरूले धनगढीमा भएको छलफल पनि बहिष्कार गरेका छन् । हेमराज भट्टराई, हरि ज्ञवाली, नेपबहादुर चौधरी, विरमान चौधरी र भगत बडूवालले सामूहिक रुपमा बैठक बहिष्कार गरेका हुन् ।प्रदेश इन्चार्ज पोख्रेल, सहईञ्चार्ज मगरको उपस्थितिमा केन्द्रीय सदस्य तथा प्रदेश सचिवालय सदस्यहरूको बैठकका लागि एजेन्डा तयार गर्न बसेको छलफल पाँच जना सिनियर केन्द्रीय सदस्यहरूले बहिष्कार गरेका हुन् ।गत स्थायी समितिको प्रदेशको सङ्गठन सम्बन्धी गरेको निर्णयमा असहमति जनाउँदै उक्त निर्णय नसच्चिएको भन्दै बैठक बहिष्कार गरेको धर्मराज भट्टराईले जानकारी दिनुभयो । उहाँले स्थायी कमिटी बैठकले गरेको उक्त निर्णय सच्चाउन समेत माग गर्नुभयो ।

यस अघि नै उक्त निर्णय प्रति असहमति जनाउँदै प्रदेश इन्चार्ज, केन्द्रीय नेतृत्व लगायतलाई जानकारी गराइएको समेत उहाँले बताउनुभयो । यस अघि प्रदेश अध्यक्षले पार्टी अध्यक्षसँग छलफल गर्ने बताएको तर, आजको छलफलमा स्थानीय कमिटी बैठकले गरेकै निर्णय अनुसारको धारणा आएपछि पाँच जनाले सामूहिक धारणा राखेर बैठक बहिस्कार गरेका हुन् । पाँच जनाले बैठक बहिस्कार गरेपनि अन्य बहुमत सिनियर केन्द्रीय सदस्यहरूको छलफल जारी रहेको थियो । उक्त छलफल केन्द्रीय सदस्यहरूको बैठकको एजेन्डा र प्रदेश सचिवालय सदस्यहरूको बैठकको एजेन्डा तय गर्ने जनाइएको छ ।