कपिलबस्तु, चैत १७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रबि लामिछानेहरुबाट मुलुकको समस्या समाधान हुन्छ भन्ने मुर्खता नगर्न सवैलाई अपिल गर्नुभएको छ । महामन्त्री थापाले नयाँ पार्टी भन्नेहरु गफ दिन जानेका तर केही गर्न नजानेका रहेको ठोकुवापनि गर्नुभयो ।
‘नयाँ पार्टीले हल्ला मात्रै गर्ने हो, त्यही गरिरहेको छ, यस्ले देश र जनताको लागि केही गर्न सक्दैन,’ कपिलवस्तुमा आयोजित खुल्ला संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले भन्नुभयो, ‘नयाँ पार्टीसँग त हल्ला गर्ने क्षमता मात्रै छ, यसलाई सम्हालेर निराशाबाट बाहिर निकाल्ने क्षमता कांग्रेसको मात्रै छ’, उहाँले भन्नुभयो ।
उहाँले अहिले जनतामा व्यापक निराशा देखिएको र त्यो भन्दा बढता निरासा कांग्रेस कार्यकर्तामा रहेको पनि बताउनु भयो । ‘यति बेला बाहिर भन्दा कांग्रेसभित्रै धेरै निराश भएका छन । त्यसैले कांग्रेसले जनताको निराशा चिर्न नसकेको हो,’ थापाले भन्नुभयो ।
थापाले देशलाई समस्या र निराशाबाट कांग्रेसले मात्र बाहिर निकाल्न सक्ने जिकिर पनि गर्नुभएको छ । ‘मैले कांग्रेसको कार्यकर्ता भएकाले आत्मप्रशंसा गरेको होइन तर, यो काम गर्न कांग्रेसले मात्रै सक्छ’, उहाँले भन्नुभयो ।
थापाले कांग्रेसले सरकार पछ्याउने होइन सरकारले नै कांग्रेलाई पछ्याउँदै आउने बताउनुभयो । ‘अहिले सरकारमा छैनौँ, भर्खरै त गएको हो, फेरि आइहाल्छ, धेरै पनि छैन, सरकारले कांग्रेसलाई त पछ्याइहाल्छ,’ थापाको भनाई थियो ।
उहाँले पार्टी भित्रको गुटबन्दी कांग्रेसको प्रगतिको बाधक भएको उहाँले बताउनुभयो । थापाले पार्टीभित्रको विवाद समाधानका लागि खुल्ला बहस जरुरी रहेको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्