जनता टाइम्स

१७ चैत्र २०८०, शनिबार २२:०१

बाग्मती सरकारमा सहभागी भयो एमाले, संसदीय दलका नेता बने आर्थिक मामिला मन्त्री


हेटौंडा, चैत १७ । नेकपा एमाले बाग्मती प्रदेश सरकारमा सहभागी भएको छ ।

एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहनुभएका केन्द्रीय सदस्य तथा सांसद जगन्नाथ थपलियाले शनिबार आर्थिक मामिला तथा विकासमन्त्रीको शपथग्रहण गर्नुभएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको चालू प्रदेश सरकारमा थपलिया दोस्रो पटक मन्त्री बन्नुभएको हो ।

यसअघि २०७९ पुस २६ गते पनि थपलिया आर्थिक मामिलामन्त्री बन्नुभएको थियो । बाग्मतीमा रिक्त ६ वटा मन्त्रालयमध्ये चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीको शपथ लिइसक्नु भएको छ ।

योसँगै १२ सदस्यीय मन्त्रिपरिषद्को बागमती सरकारमा माओवादी केन्द्रको भागमा मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून, भौतिक पूवार्धार विकास र सामाजिक विकास मन्त्रालय परेको छ । नेकपा एकीकृत समाजवादीले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हालिरहेको छ ।