विराटनगर, चैत १८ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको पर्यटन विकास आयोजनामा आफ्नै साली शोभा बस्नेतलाई कम्प्युटर अपरेटरमा नियुक्ति दिलाउनु भएको तथ्य खुलेको छ ।
मुख्यमन्त्री कार्कीले आफूले प्रदेशको बागडोर सम्हालेको तीन महिनामै आफन्त पोस्ने घोषित नीति बनाएर सालीलाई नियुक्ति दिलाउनु भएको पाइएको हो । कांग्रेस नेता तथा प्रदेश सभा सदस्य कार्की गत असोज २७ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
मुख्यमन्त्री बनेपछि बिश्वासको मत लिएसँगै कार्कीले एमालेलाई सरकारकाट बाहिर धकेल्नुभएको थियो । एमाले सरकारबाट बाहिरिएपछि कार्कीले आफन्त भर्तीको अभियानलाई गति दिनुभएको हो । सोही क्रममा उहाँले सालीलाई नियुक्त दिलाउनु भएको पाइएको छ ।
मुख्यमन्त्री कार्कीले साली नियुक्त गराउनु भएको पर्यटन विकास आयोजना पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्छ । सो मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता गणेश उप्रेतीले सम्हालिरहनु भएको छ ।
मन्त्री उप्रेतीले कर्मचारी नियुक्तिको तयारी गरिरहेका बेला मुख्यमन्त्री कार्कीले आयोजना प्रमुख कुलदीप यादवलाई नियुक्तिका लागि बस्नेतको नाम पठाउनु भएको थियो । मुख्यमन्त्रीको निर्देशनपछि यादवले बस्नेतलाई कम्प्युटर अपरेटरमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीका सालीलाई बिज्ञापनबिनै नियुक्त गरिएको तथ्यसमेत खुलेको छ ।
चालु आर्थिक वर्षमा पर्यटन विकास आयोजनाका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो आयोजनामार्फत प्रदेशका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रमा पूर्वाधार निर्माणको काम भइरहेको छ । गत मंसिर १३ गते पारित भएको कोशी प्रदेशको बजेटले पाचौं तहको कम्प्युटर अपरेटरको दरबन्दी सिर्जना गरेको थियो ।
सोही दरबन्दीमा मुख्यमन्त्री कार्कीले सालीलाई नियुक्ति दिलाउनु भएको हो । नियुक्तिअघि बस्नेतलाई कम्प्यूटर चलाउन समेत नआउने पाइएको र नियुक्तिपछि नै सिकाइएको सोही कार्यालयका कर्मचारीहरुले जानकारी दिएका छन । कम्प्युटर नै नजान्ने सालीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिलाएर पठाएपछि पर्यटन विकास आयोजनामा कार्यरत अन्य कर्मचारीहरु भिनाजु होस त केदार जस्तो भन्दै दैनिक बहश गर्ने गरेका छन ।
प्रतिक्रिया दिनुहोस्