जनता टाइम्स

१८ चैत्र २०८०, आईतवार १३:५९

एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापामा अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत, सचिव-उपसचिवमा अझै जुटेन सहमति


काठमाडौं, चैत १८ । नेकपा एमाले झापाको अध्यक्षमा प्रेमबहादुर गिरी सर्वसम्मत हुनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाले देशभर सन्देश दिन भन्दै अध्यक्षमा गिरी र उपाध्यक्षमा शिव ढुंगेललाई सर्वसम्मत चयन गरेको हो ।

अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत नेतृत्व चयन भए पनि अन्य पदमा भने आकांक्षीले दावी नछाडदा सर्वसम्मत हुन सकेको छैन । जारी जिल्ला अधिवेशनका क्रममा शनिवार भएको मनोनयनमा अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुङ्गेलको मान उम्मेदवारी परेको हो । एमाले झापाको ११ औँ जिल्ला अधिवेशन चैत १५ गते बाट सुरु भएको हो ।

अधिवेशनको उदघाटन अध्यक्ष ओलीले गर्नुभएको थियो । शुक्रबारबाट सुरु भएको बन्द सत्र समापन गरी नेतृत्व चयनका लागि सर्वसहमतिको प्रयास जारी रहेको छ । सचिव पदमा तुलसी कार्की र बोधप्रसाद घिमिरे तथा उपसचिव खुल्लामा असारु राजवंशी, टीकाराम मंग्राती र चन्द्र सुब्बाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

महिला उपसचिवमा पनि सहमति हुन सकेको छैन । नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेकोले आइतवार गर्ने भनिएको मतदान सोमवारलाई सारिएको छ । अधिकतम प्रयास गरेर अन्य पदहरुमा पनि सहमति जुटाउने कसरतमा नेताहरु लागेका छन् ।

आआफ्नो पालिकाहरुमा छलफल गरेर अन्तिम नाम ल्याउने, नामहरु आउन नसके मात्रै चुनावमा जाने सहमतिअनुरुप काम भइरहेको छ । अधिवेशनमा पालिकाबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना, आयोजक १६९ जना र मनोनीत ३८ जना गरी ७८६ जना प्रतिनिधिहरु सहभागी छन ।

जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको कमिटी बन्ने छ । विभिन्न जनवर्गीय संगठनहरुबाट पछि थप १५ जना मनोनित समेत हुनेछन ।