काठमाडौं, चैत १८ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललेको धम्कीपछि सत्तारुढ गठबन्धनबीच भइसकेको सहमति भाँडिएको छ ।
प्रधानमन्त्री निवासबालुटारामा आज बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा एसका अध्यक्ष नेपालले यथास्थितिमा सत्ता गठबन्धनलाई सघाउन नसक्ने भन्दै नेपाली कांग्रेस नेतृत्वको गठबन्धनतिर जाने धम्की दिनुभएपछि भइसकेको सहमति भाँडिएको हो ।
सत्ता गठबन्धनबीच प्रदेश सरकार भागबन्डाका लागि आज बैठक बसेको थियो । सो बैठकमा माधवकै कारण सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । बैठकमा अध्यक्ष नेपालले आफूहरूलाई एमाले र माओवादीले सत्ता प्राप्तिको भर्याङ मात्र बनाउन खोजेको भन्दै यथास्थितिमा सहयोग गर्न नसक्ने अडान लिनुभएको थियो । उहाँको सो अडानएसँगै बैठक अनिर्णीत बनेको हो ।
बैठकमा सहभागी एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार अध्यक्ष नेपालले सात प्रदेशमध्ये एउटा प्रदेशमा नेतृत्व दिनुपर्ने, सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भागबण्डा हुनुपर्ने र आफूलाई बाइपास गरेर यसअघि गरेका निर्णयप्रति पश्चाताप गर्नुपर्ने सर्त राख्नुभएको छ । ‘यो मेरो कुरा नहुने हो भने यो गठबन्धनलाई सघाउन सकिन्न,’ नेपालको भनाई थियो । नेपालले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीसँग आक्रोशित रुपमा प्रस्तुत हुनुभएको ती नेताले बताए ।
‘हाम्रो पार्टी सत्ता प्राप्तिको भर्याङ मात्रै बन्दैन । पहिलो कुरा, सात प्रदेशमध्ये एक प्रदेश एकीकृत समाजवादीले पाउनुपर्छ । अर्को सबै राजनीतिक नियुक्तीमा सम्मानजनक सहभागिता हुनुपर्छ । यसअघि भएका निर्णयमा एमाले र माओवादीले पनि पश्चाताप गर्नुपर्छ,’ बैठकमा नेपालको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्स डटकमसँग भने, ‘ जे हुन्छ हुन्छ, यथास्थितिमा विश्वासका मत दिन सकिन्न ।’
बैठकमा प्रधानमन्त्री दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीले बागमतीमा विश्वासको मत दिन नेपालसँग आग्रह गर्दा उहाँ बम्कनु भएको थियो । शीर्ष बैठक बिनानिष्कर्ष टुङ्गिएपछि सोमबार विश्वासको मत लिने तयारी गर्नुभएका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल संकटमा पर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्