जनता टाइम्स

१९ चैत्र २०८०, सोमबार १५:०५

गृहजिल्लामा पुथ्वीसुब्बाले लिए कास्कीको बदला, अध्यक्षसहित पदाधिकारीमा खगराज समुह क्लीनस्वीप (मत परिणामसहित)


एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कास्कीमा हारको बदला गृहजिल्ला लमजुङमा लिनुभएको छ । गुरुङले अध्यक्षमा राजकुमार बिष्टसहित सिंगो प्यानल जिताएर स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधर सवैलाई पाखा लगाइ दिनुभएको हो ।

लमजुङ, चैत १९ । नेकपा एमाले लमजुङको अध्यक्षमा राजकुमार बिष्ट निर्वाचित हुनुभएको छ । नवौं जिल्ला अधिवेशनको क्रममा भएको निर्वाचनको मतगणना सम्पन्न हुँदा बिष्टले निवर्तमान जिल्ला अध्यक्षलाई सानदार जीत निकाल्नु भएको हो ।

बिष्टले निवर्तमान जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई पराजीत गर्नुभएको हो । अध्यक्षमा २८८ मत प्राप्त गरी बिष्ट बिजयी बन्दा उहाँसँग प्रतिस्पर्धा गर्नुभएका अधिकारीले १९९ मत पाउनु भएको छ । जिल्ला अधिवेशनबाट पदाधिकारीमा समेत बिष्टकै प्यानलका सवै उम्मेदवार निर्वाचित भएका छन ।

उपाध्यक्षमा बिष्टकै प्यानलका जीतबहादुर गुरुङ २४२ मतसहित बिजयी बन्नुभएको छ । उहाँका प्रतिस्पर्धी शुभाष पौडेलले २३७ मत प्राप्त गर्नुभएको छ । यसैगरी सचिवमा पनि बिष्ट प्यानलका राजेन्द्र बोहोरा ३५८ मतसहित तेब्बरभन्दा बढीले बिजयी बन्नुभएको छ । उहाँका प्रतिस्पर्धी जनकराज मिश्रले ११९ मत पाउनु भएको छ ।

यस्तै उपसचिवमा पनि बिष्टकै प्यानलका दिवश बुढाथोकी ३४९ मतसहित बिजयी बन्नुभएको छ । उहाँका प्रतिस्पर्धी राजेन्द्र अधिकारीले केवल १२९ मत पाउनु भएको छ । महिलाउपसचिवमा भने राममाया राना मगर निर्बिरोध निर्वाचित हुनुभएको छ ।

लमजुङ एमालेको नेतृत्व हाँक्न निर्वाचित बिष्ट समुह उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन रहेको थियो । पराजीत अधिकारी समुह स्थायी कमिटीका सदस्य खगराज अधिकारीको समर्थनमा मैदानमा उत्रिएको थियो । तर सवै पराजीत भएका छन । गण्डकीमा उपमहासचिव गुरुङलाई टक्कर दिन उहाँकै गृहजिल्लामा स्थायी कमिटी सदस्य खगराजले अधिकारीको नेतृत्वमा टीम बनाएर चुनावी प्रतिस्पर्धा गराउनु भएको थियो ।

गृहजिल्ला लमजुङमा यो सानदार जीतसँगै उपमहासचिव गुरुङले खगराजको गृहजिल्ला कास्कीको जवाफ दिनुभएको छ । कास्कीमा पदाधिकारीमा गुरुङ पक्षधर सवै उम्मेदवार पराजीत भएका थिए । उहाँले आफ्नो गृहजिल्लामा कास्कीकै जस्तो परिणाम निकाल्नु भएको हो । यता आफ्नै जिल्लाको मात्र नभएर प्रदेश र देशकै राजनीतिमा स्थापित हस्ती उपमहासचिव पृथ्वीसुब्बाबिरुद्ध लाग्दा निवर्तमान अध्यक्षसहितका नेताहरुको राजनीतिक भविश्य नै डावाडोल भएको छ ।

लमजुङका कार्यकर्ताले कास्कीका खगराजतिर लागेर आफ्नै जिल्लाका पृथ्वीसुब्बाको बिरोध गरेको मन नपराएको अर्थमा यो परिणामलाई लिइएको छ । अधिवेशनबाट सदस्यमा पनि अधिकांश पृथ्वीसुब्बा समुहकै बिजयी भएका छन ।