janatatimes

२० चैत्र २०८०, मंगलवार ०८:३४

सत्ता गठबन्धनमा यसरी टुंगियो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कस्को नेतृत्व ? (सूचीसहित)


काठमाडौं, चैत्र २०। सत्ता गठबन्धनका चार दलबीच सात प्रदेश सरकारमध्ये कुन कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति भएको छ।

सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहनुभएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा सहमति जुटेको हो ।

जसअनुसार बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने, गण्डकी, कर्णाली र कोशी प्रदेशको नेतृत्व एमालेलाई दिने सहमति भएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई आलोपालो गर्ने सहमति भएको छ। मधेस प्रदेशको मुख्यमन्त्रीचाहिँ जसपालाई दिने सहमति भएको छ।

सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने कुनै प्रदेश सभामा प्रतिनिधित्व नगर्ने भएकाले यसमा सहभागी नभएको हो। उस्ले चार दलबीचको सहमतिलाई स्वीकार गरेको छ । चार दलबीच भएको सहमतिबमोजिम प्रदेश सरकारमध्ये बागमती प्रदेशमा माओवादीकै शालिकराम जम्कट्टेल मुख्यमन्त्री हुनुहुन्छ ।

सोमवार मात्रै उहाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरिसक्नु भएको छ । बाग्मती प्रदेशमा बाँकी कार्यकाल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आधा आधा समय मुख्यमन्त्री चलाउने सहमति भएको छ।

यस्तै माओवादी केन्द्रले नै नेतृत्व पाउने सहमति भएको लुम्बिनी प्रदेशमा भने हाल केन्द्रमा प्रमुख प्रतिपक्षी रहेको नेपाली कांग्रेस नेतृत्वको सरकार छ। चार दलबीच सहमतिअनुसार अब त्यहाँ माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गरिनेछ।

यसैगरी एमालेलाई मुख्यमन्त्री पद दिने सहमति भएको कर्णाली प्रदेशमा प्रधनमन्त्रीसमेत रहनु भएका पार्टी अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई मुख्यमन्त्री पद एमालेलाई दिन निर्देशन दिनुभएको छ। हाल त्यहाँ माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री हुनुहुन्छ ।