सुर्खेत, चैत २० । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो हितमा नआएकोले सत्ता गठबन्धनबीच भएको केन्द्रीय सहमतिलाई नमान्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शर्माले यस्तो जवाफ दिनुभएको हो ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका भाई राजकुमारले आफ्नो पक्षमा नआउने कुनैपनि सहमति र निर्देशनलाई मान्न नसक्ने धम्की पनि अध्यक्ष दाहाललाई दिनुभएको छ । माओवादी स्रोतका अनुसार शर्माले आफू सांसद रहेसम्म मुख्यमन्त्री रहिरहनुपर्ने उपमहासचिव जनार्दनको निर्देशन रहेकोले पद छाडन संभव नभएको जवाफ शर्माले दिनुभएको छ ।
सत्ता गठबन्धनबीच कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री पाउने सहमति भएको छ । कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति भएपछि शर्मा दाजुभाई एण्ड कम्पनी बिरुद्धमा उत्रिएको हो । प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री शर्मालाई निर्देशन दिइसक्नु भएको छ ।
सोमबार केन्द्रीय सहमति अनुसार कर्णालीमा एमालेले नेतृत्व गर्ने निर्णयमा शर्मा आक्रोशित बन्नुभएको छ । केन्द्रमा पनि उहाँका दाजु जनार्दन गठबन्धन भाँडे भाँडियोस, मेरो प्रदेशमा मेरो भाईलाई मुख्यमन्त्री हटाउन सकिन्न भन्दै बैठकमै उफ्रनुभएको थियो ।
गठबनधनमा फाटो ल्याउन दाजु जनार्दनको योजनाअनुसार मुख्यमन्त्री शर्माले आज मंगलबार विश्वासको मत लिने तयारी स्वरुप आइतबार प्रदेश सभामा पत्र दर्ता गराउनु भएको छ । कर्णालीमा एमालेले आफ्नो एकल बहुमत हुँदासमेत केन्द्रको सहमतिलाई स्वीकार गरेर माओवादीलाई मुख्यमन्त्री छाडेको थियो ।
एमालेलाई कर्णालीमा सरकार बनाउन नेकपा माओवादी केन्द्रको साथ पाए पर्याप्त बहुमत पुग्नेछ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेसँग सभामुखसहित १० र माओवादीसँग १३ जना सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्