काठमाडौं, चैत २० । नेकपा माओवादीका नेता कालीबहादुर खाम पक्राउ परेका छन । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका अभियुक्त खामलाई प्रहरीले आज ठमेलबाट पक्राउ गरेको हो । खाम बिगत १५ बर्षदेखि सत्ता र राजनीतिक आवरणमा जोगिदै आएका थिए ।
काठमाडौं प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीका अनुसार ठमेलबाट पक्राउ गरिएको हो । खामलाई चितवन पठाउने तयारी भएको छ । खामसहितको टोलीले चर्चित ब्यापारी रामहरीको घरमा डेरामा बसी पछि उहाँकै हत्या गरेको थियो ।
प्रहरीका अनुसार ०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी लडाकु कमान्डर रहेका खामको टोलीले कोटेश्वर क्षेत्रमा डेरा खोज्न थाल्यो । श्रेष्ठको घरको दोस्रो तला खाली थियो ।सुरुमा म्यानपावर कम्पनीका लागि कोठा चाहिएको भनेर डेरा खोजेका खामको टोलीलाई सोही प्रयोजनका लागि श्रेष्ठले कोठा भाडामा लगाउनु भएको थियो ।
तर माओवादीले खामको डेरालाई जनमुक्ति सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय बनाएको थियो । खामलगायतका लडाकु कमान्डर काठमाडौँ रहँदा त्यहीँ बस्थे । सोही क्रममा २०६४ चैत १४ गते राती सम्पर्क कार्यालयबाट पेस्तोल र १७ लाख रुपैयाँ चोरी भयो भन्ने बहाना बनाएर रामहरिको अपहरण गरियो । हल्लाखल्ला मच्चिएपछि पैसा र हतियार त भेटिए तर छानबिनको नाममा घरबेटी श्रेष्ठको हत्या गरिएको थियो ।
चोरीको सो घटना अनुसन्धानका लागि भन्दै गोविन्दबहादुर बटाला ‘जीवित’ ले श्रेष्ठलाई २०६५ बैशाख १५ गते राती २ बजे अपहरण गरेर शक्तिखोरस्थित लडाकु शिविर पुर्याएका थिए । सोधपुछका क्रममा गरिएको कुटपिटबाट श्रेष्ठको ज्यान गयो । सो रकम चोरीमा केशव अधिकारी ‘रघु’ र गंगाराम थापा ‘एटम’ पनि संलग्न भएको श्रेष्ठले पोल खोलेको दिन तीनै जनालाई २८ वैशाखमा एउटै कोठामा राखिएको थियो ।
पोल खोलिदिएको झोकमा रघु र एटमको कुटपिटबाट श्रेष्ठको टाउको, छाती र खुट्टामा गम्भीर चोट लागी बेहोस भएपछि लडाकु शिविरकै गाडीमा राखेर उपचारका निम्ति काठमाडौँ लैजाने क्रममा भालुढुंगामा पुग्दा श्रेष्ठको मृत्यु भएको थियो । रघु र एटमले तन्नामा बेरी त्यसमा ढुंगा हालेर झोलुंगे पुलबाट नारायणी नदीमा श्रेष्ठलाई फालिदिएका थिए । एटम डिभिजन कमान्डर खामकै अंगरक्षक थिए ।
उक्त घटनामा पछि अदालतले खामलाई दोषी ठहर गरेको थियो । आज पक्राउ गरिएका खामलाई चितवनमा मुद्दा चलिरहेकोले त्यहिँ लैजान लागिएको हो । खाम माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख हुन् । खामविरुद्ध चीनिया ब्यापारीसँग यार्सागुम्बा व्यापारको ५ करोड रुपैया लुटेको आरोपमा पनि प्रहरीले खोजिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्