janatatimes

२१ चैत्र २०८०, बुधबार ०९:२३

राजनीतिमा फेरि विश्वासको संकट बन्ने खतराः कर्णालीमा धमिलो पानीमा राजनीति गदैं काँग्रेस


काठमाडौं, २१ चैत्र । जनयुद्ध लडेको नेकपा माओवादी केन्द्रको फलामे अनुशासन कर्णालीमा धमिलो पानी भएर बगेको देखिएको छ। धेरैले यसलाई आइरन डिसिप्लेन भएको भनिएको पार्टीको अराजकतामा परिणत भएको घटनाका रुपमा बुझेका छन् ।

केन्द्रमा भएको सहमति विपरीत कर्णालीमा माओवादीले मुख्यमन्त्रीको दाबी गरेपछि अन्य प्रदेशमा समेत यसको छाँया पर्ने खतरा देखिएको छ। बागमती प्रदेशमा माओवादीका मुख्यमन्त्रीले विश्वासको मत लिए पनि अन्य प्रदेशमा बाँकी छ। केन्द्रमा भएको सहमति अनुसार लुम्बिनी प्रदेशमा मुख्यमन्त्री माओवादीको भागमा परेको छ। यदि कर्णालीमा एमाले नेतृत्वमा सरकार बन्न माओवादीको आन्तरिक विवादले अवरोध भएमा अन्य प्रदेशमा समेत असहज पैदा हुने आशङ्का उत्पन्न हुने खतरा देखिएको छ। जसको पहिलो असर लुम्बिनीमा देखिने छ। यसले माओवादीको चेन आफ कमान समेत केन्द्रीय नेतृत्वमा नरहेको भन्दै केन्द्रको सत्ता समीकरणमा समेत छायाँ पर्ने खतरा देखिएको छ। केन्द्रमा भएको सहमतिलाई चुनौती दिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने अडान कायम राख्नुभएको छ । उहाँलाई माओवादीको प्रदेशसभा सदस्यहरूको पूर्ण साथ छ ।उहाँले बुधवारको प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।मङ्गलवार लिने भनिएको प्रस्ताव मुख्यमन्त्रीको पत्रका आधारमा आजका लागि सारिएको हो। प्रदेश सरकारमा आलोपालोको सहमति गरेका सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच कर्णालीमा अहिले एमालेले मुख्यमन्त्री लिने सहमति भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार साँझ मुख्यमन्त्री शर्मालाई फोन गरेर सहमति अनुसार प्रदेश सरकारको नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्नुभएको थियो। तर मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रक्रियामा गइसकेको जवाफ दिनुभयो ।

माओवादी संसदीय दलका नेता समेत रहेका शर्माको आनाकानी बुझेपछि प्रचण्डले मङ्गलवार बिहानै पूर्वमुख्यमन्त्री समेत रहेका नेता महेन्द्रबहादुर शाहीलाई प्रदेशको समस्या सुल्झाउन पठाउनुभयो । तर उहाँको समेत प्रयास सफल हुन सकेन । मुख्यमन्त्री शर्माले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेकाले यो प्रक्रिया पूरा गरेर मात्र केन्द्रमा भएको सहमति अनुसार अगाडि बढ्ने प्रदेश संसदीय दलबाट समेत निर्णय गराउनुभएको छ ।
माओवादी कर्णालीको तयारी कतै फेरि राजनीतिक चलखेल हो कि भन्ने एमालेमा आशङ्का पैदा उत्पन्न भएको छ। बुधवार मुख्यमन्त्रीले लिने विश्वासको मतमा कांग्रेसको ढोक्सा प्रयोग हुने हो कि भन्ने आशङ्का उत्पन्न भएको छ। मुख्यमन्त्री शर्माले कांग्रेसको बचन नपाई यति हिम्मत नगर्ने धेरैले बताउँदै आएका छन् ।

यदि काँग्रेसले शर्मालाई विश्वासको मत दिएको खण्डमा केन्द्रमा शीर्ष नेताहरुबीच भएको सहमति पालना नहुने नेताहरूले बताएका छन्। त्यसपछि राजनीतिमा फेरि विश्वासको संकट बन्ने र केन्द्रीय नेतृत्वलाई विश्वास गर्न नसकिने बताइएको छ।