जनता टाइम्स

२१ चैत्र २०८०, बुधबार १९:२७

श्रीमान-श्रीमतीको लफडामा फस्यो नागरिक उन्मुक्ति पार्टी, एकले अर्काेलाई देखाइदिने लडाईमा रेशम-रञ्जिता


काठमाडौं, चैत २१ । स्थापना भएको लामो समय नपुग्दै नागरिक उन्मुक्ति पार्टी श्रीमान र श्रीमतीबीचको घरेलु विवादको सिकार बन्न पुगेको छ ।

पति रेशमलाल चौधरी जेलमा रहेको बेला पार्टी गठन गरी पहिलो चुनावमै राम्रो नतिजा ल्याउन सफल बन्नुभएकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीलाई पति रेशमले जेलबाट निस्केलगत्तै महाधिवेशनको नाममा पार्टीबाटै बाहिर पुर्याएर नेतृत्व हत्याउने षडयन्त्र गरेपछि सुरु भएको पति–पत्नीको घरेलु झगडाले पार्टी नै बिभाजनको डिलमा पुगेको हो ।

पार्टीका संस्थापक एवं संरक्षक पति रेशम चौधरी र हालकी अध्यक्ष पत्नी रञ्जिता श्रेष्ठ बिचको विवादको मारमा अहिले सुदूरपश्चिम प्रदेश सभामा सो पार्टीका सांसदहरू परेका छन । नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने कि सत्ता समीकरणलाई समर्थन गर्ने भन्ने विषयलाई लिएर पति–पत्नीबीच सुरु भएको विवाद अहिले पार्टी फुटाउने तहसम्म पुगेको छ ।

रञ्जिता सुदूरपश्चिममा अहिलेको सत्ता समीकरणको पक्षमा उभिएर संघमा आफू मन्त्री बन्ने योजनामा हुनुहुन्छ भने रेशम त्यसलाई रोक्न न्वारानदेखिको बल लगाउनु भएको छ । मन्त्री बनेपछि श्रीमतीले आफ्नो आदेश मान्न छाडेको इगो लिएर रेशम रञ्जीताको बिरुद्धमा लाग्नुभएको हो । सोही विषयमा पार्टीको बैठकमा दुई पक्षबीच कुटाकुट समेत भएको छ । सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका सात जना सदस्य छन् ।

रेशमले आफ्नो पक्षका पाँच जना प्रदेश सभा सदस्यलाई कांग्रेस नेतृत्व सरकारको मन्त्री बनाउनुभएको छ । सवै मन्त्रीलाई हिजो आफ्नो निवास बोलाएर रेशमले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ ।

चौधरीलाई भेट्न नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता समेत रहनुभएका आर्थिक मामिला तथा योजना मन्त्री घनश्याम चौधरी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा गिरी बर्दिया पुग्नुभएको थियो ।

यता पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभा सदस्यहरूलाई कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नुभएको छ । उहाँले पार्टी संसदीय दलको कार्यालय सुदूरपश्चिम प्रदेशलाई पत्र पठाएर विश्वासको मत नदिन ह्विप जारी गर्नुभएको छ ।

प्रदेश सभाको महत्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई भएको उल्लेख गर्दै उहाँले मुख्यमन्त्री शाहले लिन गइरहेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिनुभएको हो । मुख्यमन्त्री शाहले प्रदेश सभामा बिहीवार विश्वासको मत लिने कार्यक्रमे छ ।

बिवाद बढदै गएपछि पार्टीको सुदूरपश्चिम प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेको पत्र श्रेष्ठले काट्नु भएको छ । उहाँको गतिविधिको विषयमा स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकोले कारबाही गरेको पत्र उहाँले सभामुखलाई पठाउनु भएको हो ।

कुल ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउनको लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । अहिले सरकारमा रहेको कांग्रेससँग १८ जना प्रदेश सभा सदस्य छन् । प्रदेश सभामा कांग्रेसका १८ सदस्य हुँदा नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एकसदस्य छन् । नयाँ सत्ता समीकरणसँग नागरिक उन्मुक्ति पार्टी मिल्दा प्रष्ट बहुमत छ ।

नागरिक उन्मुक्ति पार्टीका अहिले मन्त्री भएका पाँच जनाको मतले मात्रै पनि मुख्यमन्त्रीलाई विश्वासको मत पुग्दैन । अझ राज्यमन्त्री बन्नुभएकी इन्दिरा गिरीमाथि कारबाही भए रेशमको कांग्रेस नेतृत्वको सरकार जोगाउने प्रयास सफल हुन्न । यही कारण चौधरीले कार्वाही गरेर सांसद पद खाइदिनुभएको हो ।