जनता टाइम्स

२३ चैत्र २०८०, शुक्रबार ०८:०१

स्थानीय सरकारको निर्णय : छोराछोरी सामुदायिक विद्यालयमा नपढाए सवै सेवा रोक्का


सिन्धुली, चैत २३ । आगामी शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु हुन करिब एक साता बाँकी रहँदा सिन्धुलीका तीन वटा पालिकाले जनप्रतिनिधि र कर्मचारीहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउनुपर्ने निर्णय गरेका छन ।

जिल्लाको कमलामाई नगरपालिका, तिनपाटन गाउँपालिका र मरिण गाउँपालिकाले गाउँ कार्यपालिकाबाट निर्णय गर्दै पालिका मातहतका जनप्रतिनिधि, कर्मचारी तथा सरकारी सेवा सुविधा लिनेका छोराछोरीलाई आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन जारी गरेको हो ।

तीनवटै पालिकाले निर्णयको बर्खिलाप गरे कारबाही गर्ने चेतावनी दिएको छ । कमलामाई नगरपालिकाले झण्डै एक महिना अघि यस्तो निर्णय गरेपछि मरिण गाउँपालिकाले गत १९ गते र तिनपाटन गाउँपालिकाले बुधबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएका छन ।

आगामी शैक्षिक सत्रका लागि आउँदो वैशाख १ गतेबाट नयाँ भर्ना अभियान सुरु हुँदैछ । तिनपाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतका अनुसार गाउँपालिकाको यही चैत २० गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार पालिकाका जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायत सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आगामी शैक्षिक सत्रबाट आफ्ना बालबालिकाहरूलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्नेछ ।

दुई नगरपालिका र सात गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको सिन्धुलीका तीनवटा पालिकाले यस्तो निर्णय गरेका छन । कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले निर्णय कार्यान्वयन नभए तलब रोक्का गर्नेदेखि अन्य कारबाही गरिने बताउनु भयो ।