जनता टाइम्स

२३ चैत्र २०८०, शुक्रबार १६:१७

लुम्बिनीमा माओवादी नेता जोखबहादुर महरा मुख्यमन्त्री नियुक्त


बुटवल, चैत २३ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय दलका नेता महराले आज मात्र बहुमत (४४) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले बहुमत जुटाउन नसकेपछि बिहीबार राजनीमा दिनुभएपछि महराले आज दावी पेश गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले बिहीवार नै दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

लुम्बिनीमा माओवादी केन्द्रका १० प्रदेश सभा सदस्य छन् । गठबन्धनमा भएको भागबन्डाअनुसार महरालाई एमाले (२९), जसपा (३), एकीकृत समाजवादी (१) र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गर्नुभएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीका चार सांसदले पनि समर्थन गरेका छन ।