जनता टाइम्स

२३ चैत्र २०८०, शुक्रबार १९:१६

केपी ओलीले सम्झिए भीम रावलको काम (भिडियो)


पोखरा, चैत २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष भीम रावलले २ करोडभन्दा बढी पार्टीको खर्च बढाइदिएको बताउनु भएको छ । एमाले कास्कीले आज पोखरामा आयोजना गरेको नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

पछिल्लो समय एमालेमा अनुशासनभन्दा अराजकता हावी हुन थालेको र नेतादेखि कार्यकर्तासम्मले लोकतन्त्रकै गलत अभ्याश गर्न थालेको भन्दै ओलीले पूर्वउपाध्यक्ष भीम रावलको नामै नलिई महाधिवेशनको चर्चा निकाल्नु भएको हो । चितवनको सौरहामा सम्पन्न एमालेको महाधिवेशनमा नेता रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

सहमतिका साथ नेतृत्व चयनका लागि अन्तिमसम्म प्रयाश गर्नुभएका ओलीले आफूसँग चुनावी प्रतिस्पर्धा गरेरै छाडने अडान रावलले लिएपछि बरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत घोषणा गरेर आफै प्रतिस्पर्धा गर्नुभएको थियो ।

प्रतिस्पर्धामा रावलले १० प्रतिशत मत पनि प्राप्त गर्न नसकी अध्यक्ष ओलीसँग भारी मतले पराजीत हुनुभएको हो । सोही निर्वाचनको प्रसंग खोल्दै अध्यक्ष ओलीले रावलको नाम नलिई एक जनाको लफडाले पार्टीको २ करोडभन्दा बढी रकम सत्यानास गरिदिएको बताउनु भयो ।

‘तपाई–हामीले देखेनौं र महाधिवेशनमा ? कुनै समस्या थिएन महाधिवेशनमा । एक जना मान्छेले लफडा गरेर पार्टीको कमसे कम २ करोड भन्दा बढी खर्च भयो, खर्च बढ्यो । दुई दिनभन्दा बढी अनिदो प्रतिनिधिहरु बस्नुपर्यो । प्रतिनिधिबाहेक काममा खटिएका मानिसहरु बस्नु पर्यो । थप दुई दिन अनिदो बनेर खटनु पर्यो,’ अध्यक्ष ओलीको भनाई थियो ।

उहाँले अहिले पार्टीका नेता–कार्यकर्ताहरुमा आफूलाई नै चाहिने रोग हावी भएको भन्दै सुध्रन सचेत पनि गराउनु भएको छ । ‘अहिले तपाई बस्नोस, तपाईले छोडदिनुस न त भन्यो भने शत्रु पो हुन्छ । ए मलाई छोड भन्ने ? बस पो भन्ने मलाई ? भन्ने मानसिकता हावी भइरहेको छ । यो बिल्कुलै गलत हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

एमाले अध्यक्ष ओलीले पार्टीभित्र लोकतन्त्रको बुझाइमा समेत समस्या देखिएको भन्दै सच्चिनुपर्ने बताउनु भयो । ‘हामीले जुन डेमोक्रेसी (लोकतन्त्र) को अभ्याश गरिराखेका छौं, त्यस्को गलत परिभाषा, गलत ब्याख्या र गलत प्रयोग पनि भइराखेको छ,’ अध्यक्ष ओलीले थप्नुभयो, ‘यस्तो बुझाइलाई सच्याउनु पर्छ । जिम्मेवार नेताहरुले पार्टीको एकतालाई ध्यानमा राख्ने, काममा ध्यान दिनुपर्छ । गलत परिभाषा, गलत बुझाइ र गलत अभ्याशलाई सच्याउनु पर्छ ।’

अध्यक्ष ओलीले नेकपा एमालेका नेतादेखि कार्यकर्तासम्म सवैलाई बिहान जाँदा एउटा बेलुका फर्कदा हान्ने राँगा जस्तो बन्ने रोग लाग्न नहुने पनि बताउनु भयो ।

‘बिहान जाँदा ठीकै जान्छ, बेलुका फर्कदा त चिन्नै गाह्रो पर्ने । खुब हाइफाइ देखिन्छ (हात दुईतिर फालेर सारीरिक हाउभाउ प्रदर्शन गर्दै) आउँछ । मान्छे आको हो कि हान्ने राँगा–गोरु आएको हो ? पत्तो पाउनै सकिदैन । यो खालको रोग लाग्नु हुँदैन नेकपा एमालेका नेता कार्यकर्तालाई,’ अध्यक्ष ओलीले भन्नुभयो ।

FullSizeRender