जनता टाइम्स

२३ चैत्र २०८०, शुक्रबार २१:०४

माधवको उत्कृष्ट काम, पहिलो नियुक्तिमै छोरीको नाम


काठमाडौं, चैत २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेको सदस्य पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द यादवले आज काउन्सिलको सदस्यका लागि तीन जनाको नाम सिफारिश गर्नुभएको मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलमा ४ जना सदस्यको पद रिक्त रहेको छ । तर मन्त्री यादवले तीन जनाको मात्रै नाम सिफारिश गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार दिएको जानकारीअनुसार मन्त्री यादवले सत्ता गठबन्धनका नेताहरुको सिफारिशअनुसार तीन जनाको नाम सिफारिश गर्नुभएको हो । जसअनुसार पहिलो नम्बरमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी छोरी डा. सुमन नेपालको नाम राखिएको छ ।

त्यसपछि डा. रिकेश जंग कार्की र डा.मनोजमान श्रेष्ठको नाम मन्त्रिपरिषदमा पठाइएको स्वास्थ्य मन्त्रालयका ती अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार सिफारिश गर्ने बेला मन्त्री यादवले ‘माधव नेपालको छोरीको योग्यता नपुग्ने कुरै भएन’ भन्दै आफ्नो टीमका सदस्यलाई सिफारिशबारे जानकारी गराएपछि उहाँको छोरी सुमन डाक्टरहरुको परीक्षा लिने मेडिकल काउन्सिलमा सिफारिश भएको जाकनारी पाइएको हो ।

नेपाल मेडिकल काउन्सिल ऐन २०२० मा काउन्सिलको सदस्यमा केही सरकारले मनोनित गर्ने, केही निर्वाचनबाट आउने र केही पदेन सदस्य बन्ने व्यवस्था रहेको छ । स्वास्थ्यका अधिकारीहरुका अनुसार काउन्सिलको सदस्य रिक्त पदमा ४ जना चाहिने भए पनि माधवकै जसरी आफ्ना पनि सन्तान खोज्न मन्त्री यादवले तीन जनाको मात्रै सिफारिस गर्नुभएको छ ।

मन्त्री यादवले आफू निकट टीमका सदस्यलाई जानकारी गराएअनुसार माधवले छोरीको नाममा इफ बट नहुने बताउनु भएको थियो । ‘दुनियाँका छोरी नियुक्त हुन हुने, मेरो छोरी चाँहि किन नहुने ? डाक्टर हो, उसलाई सदस्य बनाउने हो’ भन्दै माधवले प्रधानमन्त्रीसहित आफूलाई राखेर भनेको पनि मन्त्री यादवले सुनाउनु भएको ती अधिकारीले बताए ।

माधवको कुरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएपछि मन्त्रिपरिषदमा सिफारिश गरिएको मन्त्री निकट स्रोतको भनाई छ ।