विराटनगर, चैत २३ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आफ्नै मनित्रपरिषद सदस्य रहेकी आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले सञ्चालन गरेको गैरसरकारी संस्था (एनजिओ) लाई २ करोड रुपैयाँ बजेट दिएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा थापाको एनजीओलाई सो रकम दिएको हो । केयर वुमन नेपाल नामक गैरसरकारी संस्थाले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि १ करोड ८० लाख र पार्क निर्माणका लागि २५ लाख रुपैयाँ बजेट पाएको हो । उक्त एनजीओको भवन राज्यमन्त्री थापाकी आमा दुर्गादेवीको नाममा रहेको जग्गामा निर्माण गरिएको छ ।
भवन निर्माणका लागि चालू आर्थिक वर्षमा संघीय सरकारले ८० लाख र कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेका छन । कोशीको भौतिक पूर्वाधार विकास मन्त्रालयले धनकुटाको पाख्रिबास नगरपालिका–४ स्थित संस्थाको जग्गामा भवन बनाउन एक करोड रुपैयाँ विनियोजन गरेको छ । गत असोज २७ गते कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसभित्र बिद्रोह गर्ने ८ जना सांसदमध्ये थापा पनि एक हुनुहुन्छ ।
डा. शेखर कोइराला निकट थापा सामानुपातिकबाट प्रदेशसभा सदस्य चयन हुनुभएको हो । मुख्यमन्न्त्री कार्कीले बनाएको बजेटमा थापाले भवन निर्माण र पार्क निर्माणका नाममा बजेट पार्न सफल हुनुभएको छ । पाख्रिबास नगरपालिका– ८ मुगामा रहेको संस्थाको कार्यालयमा पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतको पर्यटन पूर्वाधार आयोजनाले पार्क र पूर्वाधार निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
पाख्रिबास–४ मा रहेको उक्त संस्थाको भवन निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको छ । २०७६ सालमा पनि केयर वुमेन नेपाल पाख्रिबास–८ मुगाको नाममा १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सो बजेटबाट भवन निर्माण गरिएको थियो । सोही संस्थालाई २०७७ सालमा ५० लाख रुपैयाँ बजेट दिइएको थियो । यसरी राज्यमन्त्री थापाले आफ्नो संस्थामा बर्षैपिच्छे सरकारी बजेट हत्याएर ब्रम्हलुट मच्चाउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्