बझाङ, चैत २४ । आगामी वैशाख १५ गते हुनलागेको उपनिर्वाचनका लागि बझाङको प्रदेश सभा ‘क’ का लागि नेकपा एमालेका दमनबहादुर भण्डारीसहित बिभिन्न दलबाट १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
आज भएको मनोनयनमा एमालेका भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर जाग्रीको उम्मेदवारी दर्ता भएको हो ।
यसैगरी राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट, नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोर कुमार खड्काले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो ।
बझाङमा सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । स्वस्थ प्रतिस्पर्धा गर्ने भन्दै गठबन्धनमा रहेका दलहरुले आफ्नो उम्मेदवार उठाएका हुन ।
आज उम्मेदवारी दर्ता गरेका उम्मेदवार विरुद्ध भोली बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ । आयोगले चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्