रामेछाप, चैत २४ । नेकपा एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अग्रजहरूको बलिदानीपूर्ण इतिहासलाई बिर्सन नहुने बताउनु भएको छ ।
रामेछापको सुनपाति गाउँपालिका–१ गुन्सीमा एमाले वडा पार्टीको अधिवेशन उदघाटन तथा कम्युनिष्ट पार्टीका सेल्टरदाताको सम्मान कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले यस्तो बताउनु भएको हो । उहाँले अग्रजको सम्मानले नै इतिहास जोगिने बताउनु भयो । ‘इतिहास प्रेरणा हो, इतिहास शक्ति हो, इतिहासलाई जस्ताको तस्तै जीवित बनाऊँ’, उपाध्यक्ष शाक्यले भन्नुभयो ।
हिजोको निरङ्कुश कालमा ग्रामीण महिलाले पार्टी जोगाउन गरेको जस्तो योगदान आजको पुस्ताले गर्न नसकेको उहाँले बताउनुभयो । ‘हामी के के न गरेका छौँ भन्छौँ, उहाँहरूले गरेको एकछेउ काम पनि हामीले गर्न सकेका छैनौँ, उहाँहरूले जीवन जोखिममा राखेर काम गर्नुभयो, त्यो सबैको लागि प्रेरणा हो’, उहाँले भन्नुभयो । शाक्यले हिजोको राजनीति त्याग र दुःख कष्टको राजनीति भएको बताउनुभयो । हिजो दुःख कष्ट गरेर पार्टी निर्माण भएको उहाँले बताउनुभयो । ‘यो त्यागको पार्टी हो, दुःखको पार्टी, बलिदानको पार्टी’, उहाँले भन्नुभयो ।
नेकपा एमाले धेरै अग्रजहरूले बलिदान गरेको पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँहरूको त्यही योगदानबाट आज पार्टी सुखको राजनीतिमा पुगेको उहाँले बताउनुभयो । ‘हिजो पार्टीमा काम गर्दा न सत्तामा पुगिन्छ भन्ने थियो, न केही प्राप्त हुन्छ भन्ने थियो, केवले योगदान र बलिदान मात्रै थियो’, उपाध्यक्ष शाक्यले भन्नुभयो ।
सुविधा र सत्ता राजनीतिसँगै पार्टीका नेता कार्यकर्ता स्वार्थी हुँदै गएको प्रति शाक्यले चिन्ता व्यक्त गर्नुभयो । ‘सुविधाको राजनीतिले आज हामीलाई स्वार्थमा पुर्यायो, यसले देश, जनता र दुःखलाई बिर्सियो’, उहाँले भन्नुभयो । ऐतिहासिक योद्धा जीवित हुँदै इतिहासलाई लिपिबद्ध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसमा ढिला गर्नु नहुने बताउँदै शाक्यले यो जिम्मा पार्टीले लिनु पर्ने बताउनुभयो ।
उहाँले देश बनाउने पार्टी नेकपा एमाले नै भएको बताउनुभयो । एमाले र कांग्रेस देशका प्रमुख दल भएकाले देश बनाउने विषयमा एमाले र कांग्रेस नै गम्भीर भएर लाग्नुपर्नेमा शाक्यले जोड दिनुभयो । पार्टीको धरातल गाउँ नै भएको बताउँदै शाक्यले पार्टीलाई बलियो बनाउन धरातलमा नै टेक्नु पर्ने बताउनुभयो । मिसन २०८४ मा पार्टीलाई बहुमतसहितको एक नम्बरको पार्टी बनाउन धरातलमा टेकेर राजनीतिक अभियान सञ्चालन गन शाक्यले निर्देशन दिनुभयो । ‘मिसन २०८४ भनेको एमालेलाई बहुमत सहितको सबैभन्दा ठूलो पार्टी बनाउने हो‘, शाक्यले भन्नुभयो ।
उहाँले अबको मिसन पार्टीको कामले मात्रै पूरा नहुने शाक्यले बताउनुभयो । उहाँले पार्टी कामसँगै विकास र समृद्धिको कामलाई जोडेर लैजानु पर्ने धारणा राख्नु भयो । अहिले गाउँ खाली हुँदा जमिन बाँझो बसेको र गाउँ घरमा बाँदरको राज भएको बताउनुभयो । गाउँमा बस्ने वातावरण बनाउन नयाँ ढङ्गले सोच्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘यति सारो हुन्छ भन्ने लागेको थिएन, गाउँ पुरै खालि, जम्मा ज्येष्ठ नागरिक, यसरी देश बन्दैन’, उहाँले भन्नुभयो ।
मानव श्रोत नभई देश नबन्ने बताउँदै शाक्यले यो गम्भीर विषय भएको बताउनुभयो । यस बारेमा अरूले सोचे पनि नसोचे पनि नेकपा एमालेले गम्भीर ढङ्गले सोच्नु पर्ने शाक्यको भनाइ छ ।नेकपा एमालेलाई जनतासँगको सम्बन्धको हिसाबले नमुना पार्टी बनाउनु पर्नेमा शाक्यले जोड दिनुभयो । आर्थिक, सामाजिक रूपान्तरणको काम नेकपा एमालेले अघि बढाउनु पर्ने उहाँले बताउनुभयो । ’नेकपा एमाले अब नयाँ ढङ्गले अगाडि बढ्नु पर्छ, जनताले एमाले प्रति आशा, भरोसा र विश्वास गरेका छन्, त्यसलाई एमालेले मर्न दिनुहुँदैन’, शाक्यले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्