जनता टाइम्स

२५ चैत्र २०८०, आईतवार १९:१९

लुम्बिनीका मुख्यमन्त्री महराले गरे ४ सदस्यीय मन्त्रिपरिषद् गठन, एमालेबाट फेरि पनि चेतनारायण नै बने मन्त्री


बुटवल, चैत २५ । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले चार सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । शुक्रबार मुख्यमन्त्री नियुक्त हुनुभएका महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि आज तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहनुभएको छ । मुख्यमन्त्री महराले सत्ता साझेदार तीन दलको सिफारिशमा आज तीन मन्त्री नियुक्त गर्नुभएको हो । बाँकी मन्त्रीहरु विश्वासको मत लिएपछि नियुक्त गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

संघीय सरकारमा सत्ता समीकरण फेरिएपछि लुम्बिनीमा पनि फेरिएको हो । सोही कारण मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

लुम्बिनीमा एक सिट भएको नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने गरी दलहरूको बीचमा लिखित सहमति भएको छ । जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित सहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिने सहमति भएको छ ।

लुम्बिनीमा मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउने योजना छ । धेरै दल सरकारमा सहभागी हुँदा यसअघि कायम गरिएको १० मन्त्रालय फुटालेर बढाउने तयारी पनि अघि बढाइएको छ । पहिलो चरणमा एमालेबाट नेतृत्व गर्दै मन्त्री बन्नुभएका आचार्य अर्घाखाँची प्रदेश सभा ‘क’ बाट निर्वाचित हुनुभएको हो ।

एमाले संसदीय दलका उपनेता रहनुभएका आचार्य प्रदेश संरचनामा गएपछि लगातार अवसर पाइरहने भाग्यमानी नेताको सूचीमा पर्नुभएको छ । आचार्य एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा पनि बन्नुभएको थियो । उहाँ एमाले संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकारमा पनि मन्त्री बन्नुभएको थियो ।

आचार्यलाई नै अहिले तेस्रो पटक मन्त्री बनाएर लुम्बिनीका एमाले नेताहरुले ‘अवसरमा समानुपातिक बितरण प्रणाली’ को उत्कृष्ट नमुना पेश गरेका छन । लुम्बिनी प्रदेशतिर ‘कार्यकर्ताले भनेको मिल्ने काम पनि नगर्ने तर नेताले भनेपछि नमिल्ने काम पनि गरिहाल्ने’ छवि बनाउनु भएकै कारण आचार्यलाई तेस्रो पटक मन्त्री बनाइएको हो ।

महरा नेतृत्वको सरकारमा मन्त्री बनेर जानुभएका आचार्य एमाले महासचिव पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री र लिला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री हुनुहुन्थ्यो । एमाले–माओवादीबीच गठबन्धन भइ महराको नेतृत्वमो बनेको सरकारमा पनि आचार्यलाई नै पहिलो प्राथमिकता दिइएको हो ।

आचार्यलाई नै अहिले तेस्रो पटक मन्त्री बनाएर लुम्बिनीका एमाले नेताहरुले ‘अवसरमा समानुपातिक बितरण प्रणाली’ को उत्कृष्ट नमुना पेश गरेका छन । लुम्बिनी प्रदेशतिर पार्टी कार्यकर्ताले भनेको मिल्ने काम पनि नगर्ने तर नेताले भनेपछि नमिल्ने काम पनि गरिहाल्ने छवि बनाउनु भएकै कारण आचार्यलाई तेस्रो पटक मन्त्री बनाइएको हो ।

लुम्बिनी प्रदेशमा बाँके, बर्दिया, रुपन्देही, नवलपरासी, कपिलबस्तु, दाङ, अर्घाखाँची, पाल्पा, गुल्मी, प्यूठान, रुकुम र रोल्पा रहेका छन । एमालेले अन्य जिल्लामा एक पटक पनि मन्त्री बन्ने अवसर नदिएर एकोहोरो एउटै ब्यक्तिलाई अवसरको भारी थोपरेको हो । त्यसो त आचार्यलाई पार्टीबाट सरकारको नेतृत्व गरेर पठाउनकै लागि लुम्बिनीमा मुख्यमन्त्री नलिएर माओवादीलाई छाडिएको आरोप केन्द्रीय तहकै नेतामाथि लागेको छ ।

एउटा ब्यक्तिका लागि सरकारको नेतृत्व नै छाडने केन्द्रीय नेताहरुको ब्यवहाबाट कार्यकर्ता भने निकै चिढिएका छन । लुम्बिनीका प्रभावशाली नेताहरुले आफ्नो हात जगन्नाथ गरी शक्तिको आडमा गरेको यस्तो हर्कतलाई उचित समयमा उचित ब्यवहार गर्ने भन्दै कार्यकर्ताहरु आक्रोशित बनेका हुन । कार्यकर्ता आक्रोशित बने पनि नेताहरु भने नसुने झै गरी कानमा तेल हालेर बसेको आरोप लागेको छ ।

यस्तै मन्त्री बन्नुभएका रोल्पाका पुन गत चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस र माओवादीका साझा उम्मेदवार बन्नुभएका कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनलाई पराजित गरी सांसद निर्वाचित हुनुभएको हो । मन्त्री पुन अघिल्लो चुनावमा पनि प्रदेश सांसद निर्वाचित हुनुभएको थियो । यस्तै बाँकेका अहिर यसअघि कांग्रेस नेता डिल्ली चौधरी नेतृत्वको प्रदेश सरकारमा पनि कृषि तथा भूमि व्यवस्था मन्त्री हुनुहुन्थ्यो ।