जनता टाइम्स

२६ चैत्र २०८०, सोमबार ०१:०५

एमाले बाराको अध्यक्षमा पाण्डे बिजयी बन्दा यस्तो बन्यो टीम : पतिका लागि मन्त्री ज्वालाले बिश्वासघात गरेपछि बिच्किए अध्यक्ष ओली


बारा, चैत २६ । नेकपा एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डे बिजयी हुनुभएको छ । ११औँ बारा जिल्ला अधिवेशनमा प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै पाण्डे अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्षमा तीन सय ७७ मत प्राप्त गरी पाण्डे विजयी बन्दा प्रतिस्पर्धी सुवेदीले तीन सय ४३ मत ल्याउनुभएको छ । अधिवेशनमा निवर्तमान उपाध्यक्ष टिना र निवर्तमान सचिव पाण्डेबीच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो । दुवैजना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए ।

अध्यक्षमा पराजीत टिना नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य अच्यूत मैनालीकी धर्मपत्नीसमेत हुनुहुन्छ । उहाँ पति मैनालीसहित कृषिमन्त्रीसमेत रहनुभएकी पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साहको समर्थनमा अध्यक्षमा चुनाव लडनु भएको थियो ।

यस्तै उपाध्यक्षमा पनि २४ मतको अन्तरमा भुलन चौधरी विजयी हुनुभएको छ । चौधरीले तीन सय ६४ मतका साथ बिजय निकाल्दा उहाँका प्रतिस्पर्धी नारायण गौतमले तीन सय ४० मत ल्याउनु भएको छ । यस्तै सचिवमा तीन सय ६३ मतका साथ अमृत शर्मा बजगाईं विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एम समिउल्लाहले तीन सय २७ मत पाउनु भएको छ । बजगाईं कृषिमन्त्री साहका पति हुनुहुन्छ ।

मैनाली र साहले पत्नी र पतिलाई क्रमश अध्यक्ष र सचिवमा उम्मेदवार बनाउनु भएको थियो । अध्यक्षमा मैनाली पत्नी टिना पराजीत भएपनि सचिवमा साहका पति बजगाईं भने बिजयी हुनुभएको छ । कृषिमन्त्री साहले धोका दिएपछि टिना पराजीत हुनुपरेको सोही समुहका कार्यकर्ताले आरोप लगाएका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्नी र पतिलाई अगाडि सारेर चुनाव नगराउन निर्देशन दिनुभएको भएपनि साहले नमानेको कारण चुनाव भएको हो । जहाँ पाण्डेले जित निकालेका हुन । यो घटनासँगै अध्यक्ष ओली पोलिटब्यूरो सदस्यसँग रिसाउनु भएको छ ।

यस्तै उपसचिवमा जवाहिर अन्सारी १६ मतको अन्तरले बिजयी बन्नुभएको छ । उहाँ तीन सय ५७ मतका साथ विजयी बन्दा प्रतिस्पर्धी धनिराम चौधरीले तीन सय ४१ मत ल्याउनु भएको छ । यस्तै महिला उपसचिवमा भावना आचार्य तीन सय ६८ मतका साथ विजयी बन्दा प्रतिस्पर्धी कमला घिमिरेले तीन सय २५ मत ल्याउनु भएको छ ।

नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँचजना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । चैत १९ बाट सुरु भएको नेकपा एमालेको ११औँ बारा जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि २३ गते शुक्रबार रातिभरि मतदान भएको थियो ।