जनता टाइम्स

२६ चैत्र २०८०, सोमबार १२:२२

महिलाको उद्धार गर्ने संस्थाकै कर्मचारीको योजनामा बेचिए ५ किशोरी, यसरी भयो आपराधिक धन्दाको पर्दाफास


रुपन्देही, चैत २६ । महिला बेचबिखन रोक्न नेपाल–भारत सीमा क्षेत्रमा खडा गरिएको संस्थाकै कर्मचारीहरुको मिलेमतो र योजनामा नेपाली चेलीहरुलाई भारत पुर्याउने गरेको रहष्य खुलेको छ । रुपन्देही प्रशासनले भारत पुर्याइएका पाँच किशोरीको उद्धार गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।

परिवारमा समस्या परेका र आर्थिक समस्यामा परेका ती चेलीहरुलाई भारतमा रोजगारीमा लगाइदिने तथा बिहे गरेर उतै राम्रोसँग राख्ने प्रलोभनमा पारेर ती संस्थाकै कर्मचारीहरुले भारत पुर्याएको खुलेको छ । पीडित किशोरीहरुले नै नेपालको बोर्डरबाटै भारतमा पुर्याइएको तथ्य सार्वजनिक गरेका हुन ।

आइतबार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका दुई जना, धनुषाका २ जना र पर्साकी एकजना गरी पाँच जना किशोरीलाई नेपाल प्रहरीको समन्वयमा भारतको दिल्लीस्थित केआईएन भारतले उद्धार गरी रुपन्देही प्रशासनलाई जिम्मा लगाएको छ । १५ देखि १८ वर्ष उमेरका ती किशोरीहरुलाई विभिन्न लोभ तथा प्रलोभनमा पारेर भारतको विहारमा लगेर गलत कार्यमा लगाएको अवस्थामा उद्धार गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाइएको हो ।

काम लगाइदिने प्रलोभन दिएर भारतको विहार पुर्याइएका पाँच जना किशोरीलाई उद्धार गरिए पनि प्रशासनले सीमा क्षेत्रमै बसेका संस्थाका कर्मचारीको योजनामै उनीहरु भारत पुगेको रहस्य फेला पारेपछि सो क्षेत्रमा काम गर्ने अन्य संस्थाहरु पनि शंकाको घेरामा परेका छन । यसरी बेचिएका ती किशोरीहरुले नेपालकै बोर्डरमा भारतीय प्रहरीले रोकेर फर्काउँदा पनि नेपालतर्फ बसेका ती संस्थाका कर्मचारीले चोर बाटोबाट आफूलाई भारत जान सघाएको जानकारी दिए ।

सो घटनाको बिषयमा अनुसन्धान भइरहेको भन्दै प्रशासनले संस्थाको नाम गोप्य राखेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनु भयो । ‘उद्दार भएका किशोरीको भनाइमा ती संस्थाकै कर्मचारीको भूमिका प्रष्ट देखिएको छ, हामी थप अनुसन्धान गर्दैछौं । यो क्षेत्रमा काम गर्ने सबै संस्थाका कागजपत्र मगाएर तत्काल अनुसन्धान गर्न निर्देशन दिइसकेको छु,’ प्रजिअ अर्यालले भन्नुभयो ।

प्रजिअ अर्यालका अनुसार आइतबार उद्दार भएका ५ किशोरी १५ देखि १८ वर्षका रहेका छन । रुपन्देहीको सांस्कृतिक नगरपालिकाकी १८ वर्षीय मुस्लिम समुदायकी ती किशोरीले रुपन्देहीको कक्रहवा नाकामा रहेका संस्थाका कर्मचारीको सहयोगमा आफू भारत गएको र उता गएपछि मात्रै आफूलाई गलत ठाउँमा पुर्याइएको महशुस भएको बताएका छन ।

‘म साथीसँगै राती १० बजे घरबाट हिँडेर गएको हो । राती १ बजे कक्रहवा नाका पुग्यौं, प्रहरीलाई ढाँटेर भारतमा घर भएको र जरुर काम भएर झुटो कुरा भनेर जान दिन अनुरोध गर्यौं । तर भारतीय प्रहरीले दिएन । राती आएर ती कर्मचारीको घरमा बस्यौं, पछि ती कर्मचारीले अर्कै ठाउँबाट जाने बाटो देखाइदिएपछि गएका हौं, भारत पुगेपछि बल्ल गलत ठाउँमा पुगेको जानकारी भयो,’ पीडित किशोरीको बयान उधृत गर्दै प्रहरीले भन्यो । ती किशोरीहरुले घरमा आमाले आफूलाई माया नगरेका कारण कमाउन मन लागेर हिंडेको बताएकी छन ।

‘बुवा विदेशमा हुनुहुन्छ, आमाले मलाई बोर्डिङ पढ्न दिनुभएन, साथीसँग सल्लाह गरेर गएकी हुँ, सीमामा पुलिससँग पनि झुटो बोलेको हुँ तर अहिले गल्ती गरेको महसुस भयो, अब राम्रोसँग पढ्छु र यतै काम गर्नुछ । मलाई सहयोग आवश्यक छ,’ ती बालिकाले भननि ।

धनुषाकी १६ वर्षीय किशोरीले विवाह गरेर लगेका युवकले अलपत्र छाडेर गलत काममा लगाएको बताएकी छन । ‘मलाई विवाह गरेर लैजाने व्यक्ति उता गएपछि कहाँ गयो ? पत्तो भएन, अहिले यस्तो समस्यामा परेर आउनुपर्यो,’ उनले भनिन् ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाका दुई किशोरी गत फागुन २ गते राती लुम्बिनीस्थित कक्रहवा नाकाबाट भारत पुगेका थिए । घरपरिवारबाट भागेर हिंडेका किशोरीलाई भारतीय नागरिकले जागिर लगाइदिने बहानामा गलत कार्यका लागि प्रयोग गर्न थालेपछि उनीहरु भागेर प्रहरीकहाँ गएपछि केआईएन भारतले सम्पर्क गरी शनिवार नेपाल ल्याइएको हो ।

त्यस्तै धनुषाका दुई युवतीलाई गाउँकै व्यक्तिले जागिर लगाइदिने भन्दै विहार पुर्याएका थिए । पर्साकी युवतीलाई गाउँकै एक व्यक्तिले विवाह गरी भारत लगेर छोडिदिएका थिए । विवाहको नाटक गरी भारतको विहार पु¥याएका उनलाई पनि केआईएन भारतको पहलमा चार महिनापछि रुपन्देही ल्याइएको हो ।

उद्धार गरी रुपन्देही ल्याइएका पाँचैजना युवतीलाई जिल्ला प्रहरी कार्यालयको संरक्षणमा राखिएको र परिवारलाई सम्पर्क गरी जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।