जनता टाइम्स

२६ चैत्र २०८०, सोमबार १६:१३

नाउपा बिवाद चरम उत्कर्षमा, रञ्जीताको पत्रले सुदुरपश्चिमकी सांसद गिरी पदमुक्त


कैलाली, चैत २६ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का एक जना प्रदेशसभा सदस्य पदमुक्त भएका छन ।

सभामुख भीम भण्डारीले आज पार्टीको सिफारिशअनुसार नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँस गर्नुभएको हो । सभामुखले सूचना टाँस गरेसँगै साँसद गिरीको पद गएको छ ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना निकाल्नुभएको हो । पछिल्लो पटक भएको बिवादमा संरक्षक रेशमलाल चौधरीतिर लागेर पार्टीबिरोधी हर्कत गरेको भन्दै अध्यक्ष श्रेष्ठले स्पष्टिकरण सोधेकोमा जवाफ नदिनुभएकी गिरीलाई कार्वाही गरी पदमुक्त गरिएको नाउपाले जनाएको छ ।

सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना निकालेको हो । सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘‘। प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सरकारलाई लिएर आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाउनु भएको थियो । समानुपातिक सांसद गिरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री हुनुभएको थियो ।

संरक्षक रेशम चौधरी पक्षको जोडबलमा गिरीसहित नाउपाका ५ प्रदेश सांसद शाह सरकारमा मन्त्री हुनुभएको थियो । तर एमाले–माओवादी गठबन्धनको पक्षमा उभिनुभएकी अध्यक्ष रञ्जिताले सरकारबाट फिर्ता हुन निर्देशन दिनुभयो । आफ्नो निर्देशन पालना नगरेको भन्दै श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र पठाउनु भएपछि सभामुखले पदमुक्तको निर्णय लिनुभएको हो ।