ओखलढुंगा, चैत २६ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनावी प्रतिस्पर्धामा गएर परिणाम स्वीकार नगर्ने रोग पार्टीमा मौलाएको भन्दै सच्चिन निर्देशन दिनुभएको छ । पछिल्लो समय पार्टीभित्र प्रतिस्पर्धा गर्न तम्सिने तर परिणाम स्वीकार्न नसक्ने रोग झाँगिएको भन्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले सच्चिन निर्देशन दिनुभएको हो ।
एमाले ओखलढुंगाको १०औं जिल्ला अधिवेशनको आज उदघाटन समारोहमा बोल्दै पोखरेलले नेताप्रति पनि कठोर शब्द प्रयाग गर्नुभयो । पछिल्लो समय आफूलाई नेता भन्नेहरु नै अनावश्यक चलखेलमा लागेर गुट निर्माण गरिरहेको तथ्य औंल्याउँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘नेताहरूले छिर्के हान्ने खेलाडी होइन, रेफ्रीको भूमिका निभाउनु पर्छ । तर हाम्रो पार्टीमा ठीक उल्टोपाल्टो काम भइरहेको छ ।’
उहाँले चुनावी प्रतिस्पर्धामा गएपछि सहज रुपमा परिणाम स्वीकार गर्न पनि सवैलाई आग्रह गर्नुभयो । ‘प्रतिस्पर्धा गर्ने अनि प्रतिस्पर्धाको परिणामलाई स्वीकार गर्न गाह्रो मान्ने तपाईंहरूको रोग प्रदेश, जिल्लामा नसरोस । प्रतिस्पर्धा गर्नुभयो भने परिणाम आइसकेपछि विजयी बन्नेलाई विजयी बन्न नसकेका साथीले सबै भन्दा पहिला आएर माला र खादा लगाउने सक्ने हुनुहोस,’ पोखरेलले भन्नुभयो ।
ओखलढुंगा आफ्नो जन्मभूमि भएको उल्लेख गर्दै पोखरेलले यो जिल्लाबाट सही सन्देश दिन सुझाउनु भयो । ‘म आफ्नै जन्मभूमिको अधिवेशनमा आउँदा खुशी छ । म यहाँ खेलाडी भएर आएको छैन । अरु साथीहरु पनि यहाँ खेलाडी भएर होइन, रेफ्रीका रूपमा आउनु भएको छ । खेलाडीले कहिलेकाँही यसो कुहिनोले हान्दा पनि छुट पाउँछ । कुद्दै गर्दा यसो छिर्के लगाउन पनि पायो । तर, हामी त्यसो गर्दैनौँ,’ पोखरेलले भन्नुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले तुलनात्मकरूपमा विचारमा प्रष्ट भएको, संगठन निर्माण र परिचालनमा अनुभव भएको, जनताले पत्याएको र चिनेको, भोलि जनताले भरोसा गर्नेलाई छान्न पनि निर्देशन दिनुभयो । करप्टेड र फ्रस्टेटेड मान्छे नेकपा एमाले हुन नसक्ने भन्दै उहाँले त्यस्ताबाट पार्टी जोगाउन जोड दिनुभयो ।
अधिवेशनमा स्थायी कमिटी सदस्य शेरधन राईले पार्टीमा देखिएका चुनौतीहरूलाई सामना गरेर अघि बढ्नुपर्ने औंल्याउनु भयो । कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले बरिष्ठ उपाध्यक्षको भनाईमा समर्थन गर्दै प्रतिस्पर्धामा हारेपछि सबैभन्दा पहिला विजेतालाई माला पहिराउने संस्कार सुरू गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवारले पार्टीलाई अझै बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्यहरु किशोर अधिकारी, खगेन्द्र राई, पूर्व प्रदेश मन्त्री अम्बिरबाबू गुरुङ, केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेललगायतले पनि कार्यक्रममा सम्वोधन गर्नूभएको थियो ।
प्रतिक्रिया दिनुहोस्