janatatimes

२७ चैत्र २०८०, मंगलवार १८:२५

एमाले नेता यमलाल कँडेल कर्णालीको मुख्यमन्त्री नियुक्त, साँढे ६ बर्षपछि पाए एकल बहुमत हुँदा छाडेको पद


सुर्खेत, चैत २७ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेल नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख तिलक परियारले आज साँझ एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखले दिएको समयभित्र बहुमतको सरकार गठनका लागि दावी पेश भएसँगै कँडेललाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

एमाले नेता कँडेलले सत्ता गठबन्धनमा रहेका नेकपा एमालेका ९, नेकपा माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका १ सांसदसहित २३जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो ।

कर्णाली प्रदेशमा सरकार गठनका लागि २१ जना सांसद्को आवश्यकता पर्छ । कर्णालीमा ४० सदस्यीय प्रदेशसभा रहेको छ । एमाले नेता कँडेलले केन्द्रको निर्देशनअनुसार २०७४ सालको निर्वाचनमा एकल बहुमत पाउँदा पनि माओवादी केन्द्रलाई मुख्यमन्त्री पद छाडनु भएको थियो । पार्टीको एकल बहुमत हुँदा छाडेको पदमा कँडेल आज बल्ले पुग्नुभएको हो ।

एकल बहुमत हुँदासमेत सरकारको नेतृत्व छाडेको भन्दै कर्णालीमा एमालेका मतदाता निकै चिढिएका थिए । सोही कारण गत बर्षको निर्वाचनमा एमाले एकल बहुमतको अवस्थाबाट झरेर १० सिटमा सिमित हुनुपरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका पार्टी नेता मात्रै नभई कार्याकर्ता र मतदाताको समेत भावना बुझेपछि यसपटक सरकार परिवर्तन हुँदा पहिलो नम्बरमा कर्णाली प्रदेशको सरकारको नेतृत्व हुनुपर्ने अडान राख्नुभएको थियो ।

अध्यक्ष ओलीको सोही नीतिअनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परे पनि नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बरु संघीय सरकार र प्रधानमन्त्री पद जावस तर कर्णालीमा भाईलाई (राजकुमार शर्मा) मुख्यमन्त्री हटाउन पाइन्न भन्दै बखेडा झिक्नुभएको थियो ।

जनार्दनको बखेडाकै कारण आजसम्म मुख्यमन्त्री नियुक्त हुन सकेको थिएन । प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समय आज अन्तिम दिन जनार्दनको धम्कीको बेवास्ता गर्दै कर्णालीका माओवादी नेतृत्वले कँडेललाई मुख्यमन्त्री बनाउने पक्षमा निर्णयसहित हस्ताक्षर बुझाएको थियो । हस्ताक्षर बुझाए लगत्तै मुख्यमन्त्री दावी गरिएको थियो ।