जनता टाइम्स

२८ चैत्र २०८०, बुधबार ११:३१

अन्ततः माधवले स्वीकारे केपी ओलीको प्रस्ताव


काठमाडौं, चैत २८ । नेकपानेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार बिमला घिमिरेलाई मत दिने भएको छ ।

सत्ता गठबन्धनभित्र राष्ट्रिय सभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको नेकपा एसले पार्टीले सो पद नपाएपछि एमाले उम्मेदवार घिमिरेलाई नै मत हाल्ने निर्णय लिएको हो । नेकपा एकीकृत समाजवादीकी राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले सत्ता गठबन्धनमै रहेकाले कांग्रेस उम्मेदवारलाई मत दिन उचित नहुने निश्कर्षसहित एमाले उम्मेदवारलाई मतदान गर्ने बताउनु भयो ।

‘सत्ता गठबन्धनमै भएकाले शीर्ष नेतृत्वबाट एमाले उम्मेदवारलाई नै मत दिने सङ्केत आएको छ’, राईले भन्नुभया, ‘गठबन्धनबाहिर भएको भए बेग्लै हुन्थ्यो ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन निर्माणको समयमै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रियसभा उपाध्यक्षमा एमालेलाई सहयोग गरी कुण्ठा मेटिएको सन्देश दिन प्रस्ताव राख्नुभएको थियो । सुरुमा आफूहरुलाई चाहिने अडान राखेपनि अन्ततः माधवले केपी ओलीको प्रस्ताव स्वीकार गर्नुभएको हो ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उपाध्यक्षका लागि आज बुधवार १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा मतदान हुँदैछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा सत्ता गठबन्धन एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीको बहुमत भएकाले घिमिरेको जीत निश्चित जस्तै रहेको छ । नेकपा एमालेबाट बिभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीले बिभाजनपछि पहिलो पटक आज एमालेलाई मतदान गर्न लागेको हो ।