जनता टाइम्स

२८ चैत्र २०८०, बुधबार १५:४८

कांग्रेस उम्मेदवार बिष्णुदेवीलाई पराजीत गर्दै राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी बिमला घिमिरे निर्वाचित


काठमाडौं, चैत २८ । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद विमला घिमिरे निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा भएको निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । घिमिरेले ३९ मत प्राप्त गरी बिजयी बन्दा कांग्रेस उम्मेदवार पुडासैनीले १६ मत मात्रै पाउनु भएको छ ।

एमाले उम्मेदवार घिमिरेलाई सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको पनि साथ रहेको थियो। आज बसेको बैठकमा घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ र विपक्षमा १६ मत आएको हो।

घिमिरेको पक्षमा बहुमत आएपछि अध्यक्ष नारायण दाहालले उहाँलाई राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । आजको बैठकमा ५५ जना सांसद उपस्थित थिए। यसअघि नेपाली कांग्रेसकी विष्णु देवी पुडासैनीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। उहाँको पक्षमा १६ मत र विपक्षमा ३९ मत खसेको थियो।

पुडासैनीको प्रस्तावकमा कांग्रेसका दुर्गा गुरुङ हुनुहुन्थ्यो भने घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने रहनुभएको थियो । निर्विरोध निर्वाचित भएकी राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएपछि सो पद रिक्त थियो।

एमाले नेतृत्वमा नयाँ राजनीतिक समीकरण बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली,नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल,रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्षमा एमालेलाई दिने सहमति भएको थियो। सहमति अनुसार नै गत फागुन २९ भएको निर्वाचनमा माओवादी केन्द्रका नारायण दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

५९ सदस्यीय रहेको राष्ट्रिय सभामा हाल माओवादी १८,कांग्रेस १६, एमाले १०,एकीकृत समाजवादी ८,जसपा ३,लोसपा १,राष्ट्रिय जनमोर्चा १ सदस्य छन्। यसैगरी राष्ट्रपतिबाट नारायणप्रसाद दाहाल र वामदेव गौतम मनोनित सदस्य हुनुहुन्छ। विमला राईको कार्यकाल सकिएपछि एकजना मनोनित हुन बाँकी रहेको छ।