विराटनगर, चैत्र २९। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति नबन्ने बताउनुभएको छ ।
कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेर अहिलेको सत्ता समीकरण रोक्ने कोसिस गरेको तर सफल नभएपछि सहकारीको विषय उठाएको आरोप प्रचण्डले लगाउनुभयो । संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध जारी राखेको बेला प्रधानमन्त्री प्रचण्डको यो भनाइ सार्वजनिक भएको हो ।
‘कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेर अहिलेको सत्ता समीकरण रोक्ने कोसिस गरेको थियो । तर सफल भएन । सत्ता फेर्न नसकेको र प्रधानमन्त्री बनाउन नसकेपछि कांग्रेस सहकारीको बिषय उठाएर बितण्डा मच्चाइरहेको छ,’ प्रधानमन्त्री दाहालले भन्नभयो । उहाँले कांग्रेसको माग राजनीतिक आग्रह पूर्वाग्रहबाट प्रेरित भएको भन्दै संसदीय छानबिन समिति नबन्ने बताउनुभयो ।
‘अहिले रवि लामिछानेलाई नै लिएर जसरी समितिको माग भएको छ, त्यो मिल्ने कुरा छैन,’ बिहीबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘समिति रविलाई भनेर बन्दैन, त्यो बन्न सक्दैन ।’ नेपाली कांग्रेसले यसलाई राजनीतिक इस्यु बनाएको आरोप लगाउँदै प्रधानमन्त्री प्रचण्डले यसको समाधान राजनीतिक समझदारीबाटै गर्नुपर्ने बताउनुभयो ।
‘रवि लामिछानेको केस अलग्गै र सहकारीको समस्या अलग गरेर छलफल गर्यो भने समाधान निस्किन पनि सक्छ भन्ने तिर गइराख्या छ र हाम्रो कोसिस पनि त्यतै छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।यदि रविरुद्ध कुनै प्रमाण भेटिए अनुसन्धान हुने उहाँले बताउनु भयो।
‘मैले अनुसन्धानकर्ताहरुकै सुझावअनुसार बोलेपछि मैले कसैलाई बचाउनुपर्ने कुनै कारण पनि छैन,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो , ‘भोलि कुनै प्रमाण देखिन्छ भने अनुसन्धान गर्न सरकार पछि पर्दैन ।’
अनुसन्धान गर्ने निकाय सीआईबीले नै रविविरुद्ध प्रमाण नभएको भनेपछि थप अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रचण्डको जिकिर छ ।













प्रतिक्रिया दिनुहोस्