जनता टाइम्स

२९ चैत्र २०८०, बिहीबार १३:१९

बदलिए खगराज : आफैले घटाएको मन्त्रालय संख्या बढाए, जिल्ला अध्यक्षमा चुनाव हारेकालाई बनाए न्यायाधिबक्ता


पोखरा, चैत २९ । संबिधान मिचेर मुख्यमन्त्री बनेको आरोप खेपिरहनुभएका गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारी आफ्नै पुरानो मूल्य मान्यताबाट पछि हटनु भएको छ ।

उहाँले आफ्नै अदर्शबाट पछि हटेर बिगतमा आफैले घटाएको मन्त्रालयको संख्या बढाउनु भएको छ भने पाटीसँग सल्लाह नै नगरी एमाले जिल्ला अध्यक्षमा चुनाव हारेका गटका सदस्यलाई न्यायाधिबक्ता बनाउनु भएको छ । गण्डकीमा मुख्यमन्त्री  अधिकारीले मन्त्रालयको संख्या बढाएर ७ बाट ९ बनाउने निर्णय गर्नुभएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिनुभयो ।

यसअघि २०७९ पुस २५ गते मुख्यमन्त्री हुँदा अधिकारीले नै १२ बाट घटनाएर ७ मन्त्रालय बनाउने निर्णय गर्नुभएको थियो । यसपटक भने सत्ता संकटमा पर्ने देखिएपछि फेरि ९ मन्त्रालय बनाउने निर्णय गराउनु भएको हो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएको चुमानले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । हालैको एमाले लमजुङको अध्यक्षमा पराजीत हुनुभएका खगराज समुहका अधिकारीलाई न्यायाधिवक्ता बनाउने निर्णय गरिएको हो ।

गण्डकीमा मुख्यमन्त्री नियुक्तविरूद्ध मंगलबार मात्र तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गर्नुभएको छ । बुधबार सर्वोच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।