जनता टाइम्स

२९ चैत्र २०८०, बिहीबार १६:३३

केपी ओली उत्तरी सीमा नाका ओलाङचुङगोला पुग्दा जे देखियो (फोटोफिचर)


ताप्लेजुङ, चैत २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिब्बतसँग जोडिएको नेपालको पूर्वी हिमाली नाका ओलाङचुङगोलाका स्थानीयसँग संवाद गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले ओलाङचुङ्गोलाको वस्तुस्थिति बुझ्न आज ओलाङचुङ्गोला पुग्नुभएको हो ।

ओलीले स्थानीयसँग स्थानीय समस्या तथा सम्भावनाका विषयमा संवाद गर्नुभएको हो । चीनको सीमा क्षेत्रसम्म पुग्ने निर्माणाधीन सडक र सीमा क्षेत्र अवलोकनका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सचिव तथा ताप्लेजुङका प्रतिनिधि समा सदस्य योगेश भट्टराई, रक्षामन्त्री हरि उप्रेतीलाई साथमा लिएर अध्यक्ष ओली सो स्थानमा पुग्नुभएको हो ।

संवादको क्रममा ओलीले स्थानीयको गुनासो र सुझाव सुन्नुभएको थियो । ओलाङचुङ्गोलाबासीले अध्यक्ष ओलीलाई सो क्षेत्रमा गर्नुपर्ने कामको ध्यानाकर्षण पत्र पनि बुझाएका छन । सो क्रममा अध्यक्ष ओली, मन्त्रीहरू तथा एमाले सचिवले नागरिकका बिचमा आफ्ना धारणा पनि राख्नु भएको थियो । उहाँहरूले स्थानीयका मागलाई सम्बोधन गर्न प्रयत्न गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा स्थानीय सांस्कृतिक नाच समेत प्रस्तुत गर्नुभएको थियो ।

अहिले ओलाङचुङ्गोलासम्म सडक खोलिएको छ । त्यहाँबाट चीनको सीमासम्म सडक जोड्न २२ किलोमिटर सडक निर्माण बाँकी रहेको छ । निर्माणाधीन तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको लेलेपबाट ओलाङचुङ्गोलासम्मको सडक गत फागुन महिनाको पहिलो हप्ता ट्रयाक ओपन कार्य सम्पन्न भएको हो । सो सडक निर्माणको काम २०७४ सालबाटै सुरु भएकोमा निक्कै ढिलो गरी काम अघि बढेको छ ।

नेपाल, भारत र चीन जोड्ने तमोर कोरिडोर त्रिदेशीय सडक मार्गको रूपमा रहेको छ । यसले पनि यो मार्गको महत्व रहेको छ ।