जनता टाइम्स

३० चैत्र २०८०, शुक्रबार १०:४९

घरको ढोकामा बम राखेर आतंकित पार्दै बुद्धचित्त मालाको बोट फडानी, घटनास्थलमा भेटियो जनमुक्ति सेना लेखेको ज्याकेट


बनेपा, चैत ३० । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा अज्ञात समुहले घरमा बम राखेर आतंकित पार्दै रातभर बुद्धचित्तको बोट फडानी गरेको छ । बुद्धचित्त फडानी गर्न अज्ञात समुहले स्थानीयको घरको ढोकामा बम राखिएको पाइएको छ ।

प्रहरीका अनुसार रोशी गाउँपालिका–५ नागवेली कोल्दोङस्थित ठगुरानी लामाको घरमा गएराती बम राखी अज्ञात समुहले बुद्धचित्त मालाको बोट फाडिएको हो । बिहीबार राती अपरिचित समुह आएर तीन घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको स्थानीयवासीले जनताटाइम्स डटकमलाई बताए । स्थानीय ठाकुरानी तामाङको हरेक वर्ष करोडौंमा बिक्री गर्दै आएको मालाको रुख अपरिचित समूह आइ काटेका हुन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले बुद्धचित्तको मालाको मुल बोट काटेर तीन घरको आगनमा ४ वटा सकेट बम राखिएको पाइएको जनाएको छ । सो घटनाको बारेमा अनुसन्धान गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेका छ ।

अपरिचित समुहले काटेको उक्त माला गत आर्थिक वर्षमा ९० लाखमा कारोबार भएको थियो । प्रहरीले घटनास्थलमा जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट, हसिया हतौडा अंकित झण्डा र मट्टीतेल फेला पारेको छ ।

रुख काटेर जाने क्रममा नेकपा माओवादी जिन्दावाद भन्ने नारा लगाउँदै गएको र घटनास्थलमा जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट, हसिया हतौडा अंकित झण्डा फेला पर्नुले सोही समुहले आपराधिक काम गरेको आशंका गरिएको छ ।