जनता टाइम्स

३० चैत्र २०८०, शुक्रबार १५:३३

एमालेमा शाक्यलाई अवसरको बहार, राजदूतपछि राष्ट्रिय सभाको उपहार


काठमाडौं, चैत ३० । सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा पूर्वराजदूत डा. अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिश गरेको हो ।

नेकपा एमालेकी परराष्ट्र मामिला बिभाग सचिव रहनुभएकी शाक्य यसअघि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा इजरायलका लागि राजदूत हुनुहुन्थ्यो । यसअघि मनोनीत हुनुभएकी डा. बिमला पौड्याल राईको पदावधी सकिएपछि रिक्त रहेको राष्ट्रियसभा सदस्यमा एमालेकै सिफारिशअनुसार सरकारले शाक्यको नाम दिएपछि सरकारले राष्ट्रपति समक्ष सिफारिश गरेको हो ।

राष्ट्रिय सभामा जान एमालेका पदाधिकारीहरु नै लागेको भएपनि शाक्यले बाजी भार्नुभएको हो । महिलाको कार्यकाल सकिएकोले महिलालाई नै पठाइएको बताइएको छ । पछिल्लो समय नेकपा एमालेमा नयाँलाई अवसर दिने नभई पहिला नै अवसर लिइसकेकालाई नै फेरि अवसर दिने नीति जस्तै बनाइएकोले पूर्वराजदूत शाक्य प्राथमिकतामा पर्नुभएको हो ।

राष्ट्रियसभा सदस्यमा सिफारिश हुनुभएकी पूर्वराजदूत शाक्यका पति डा. अजय क्रान्ति यसअघि बागमति प्रदेशसभा सदस्य हुनुहुन्थ्यो ।शाक्य दम्पत्तिले अवसर लिनेमा एमालेमा निकै अब्बल रहँदै आउनु भएको छ ।